नेकपा (नयाँ बहुमत)ले खारेज गर्‍यो एकल पदीय ढाँचा, सामूहिक नेतृत्वमा जाने निर्णय

नेकपा (नयाँ बहुमत)ले खारेज गर्‍यो एकल पदीय ढाँचा, सामूहिक नेतृत्वमा जाने निर्णय

काठमाडौं : टुटफुट र विभाजनको अवस्थामा रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउन नेकपा (नयाँ बहुमत)ले प्रमुख पदीय ढाँचा खारेज गरेर पूर्ण रूपमा सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता धर्मेन्द्र बास्तोलाले टुटफुट र विभाजनका कारण रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध तथा सशक्त बनाउन विचारकेन्द्रित सामूहिक प्रणाली लागू गरिएको जानकारी दिएका हुन्।

बास्तोला नेतृत्वको नेकपा (बहुमत) र रवीन्द्र श्रेष्ठ नेतृत्वको नेकपा (जनपक्ष) बीच गत मंसिर ६ देखि ९ गतेसम्म चलेको एकता बैठकले पार्टीको नाम ‘नेकपा (नयाँ बहुमत)’ तय गर्दै पुनर्गठन गरेको हो। बास्तोलाले यस एकतालाई कम्युनिस्ट आन्दोलनका विद्यमान समस्या चिर्दै नयाँ ढंगले आन्दोलनलाई अगाडि बढाउने ऐतिहासिक प्रयासका रूपमा चित्रण गरे।

पार्टीको संगठनात्मक ढाँचाबारे जानकारी दिँदै कार्यालय सदस्य इन्दिरा अधिकारीले लामो समयदेखि हाबी पद केन्द्रित नेतृत्व अन्त्य गर्न पार्टीमा अध्यक्ष, महासचिव वा सभापतिजस्ता कुनै पनि एकल पद नराखिएको बताइन्। उनका अनुसार पार्टीमा महाधिवेशन सर्वोच्च निकाय रहनेछ भने महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समिति, पोलिटब्युरो, संगठन ब्युरो तथा केन्द्रीय कार्यालयमार्फत सामूहिक निर्णयका आधारमा कार्य सञ्चालन हुनेछ।

पार्टीको राजनीतिक कार्यदिशाबारे प्रकाश पार्दै कार्यालय सदस्य बाबुराम गजमेरले देशमा वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न ‘संयुक्त समाजवादी सरकार’ निर्माणको प्रस्ताव जनतामाझ लैजाने निर्णय भएको बताए। दलाल पुँजीवादलाई नेपालको मुख्य समस्याका रूपमा औँल्याउँदै गजमेरले वैदेशिक पुँजीको अनुचित प्रभाव, राष्ट्रिय सम्पत्तिको दोहन, औद्योगिकीकरणको अभाव र युवा शक्तिको तीव्र विदेश पलायन त्यसैको उपज भएको दाबी गरे।

दलाल पुँजीवादविरुद्ध एकजुट हुन सबै क्रान्तिकारी शक्तिहरूलाई आह्वान गर्दै नेता बास्तोलाले संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मौलिक हक अविलम्ब कार्यान्वयन गर्न सरकारसँग माग गरे। साथै, उनले रुस-युक्रेन र अमेरिका-इरान युद्धलगायतका पछिल्ला भूराजनीतिक तनावलाई विश्वव्यापी पुँजीवादी अन्तर्विरोधको परिणामको रूपमा व्याख्या गर्दै समाजवादको पक्षमा अन्तर्राष्ट्रिय कम्युनिस्ट एकता अपरिहार्य रहेको उल्लेख गरे।

मंसिर १०, २०८३ बिहीबार १५:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।