धादिङको गल्छीमा हाइसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-७, गल्छीबजारमा हाइसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार राति करिब ८:२० बजे गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख २२४९ नम्बरको हाइसले ठक्कर दिँदा बाराको विश्रामपुर गाउँपालिका-५ घर भएका करिब ३८ वर्षीय सुरेश पण्डितको मृत्यु भएको हो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा रहेका पण्डितलाई तत्काल स्थानीय बैरेनी अस्पतालमा सामान्य उपचार गरी राति ९ बजे थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।
उपचारकै क्रममा राति १०:५० बजे वीर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी गल्छीबाट खटिएको टोलीले ठक्कर दिने हाइस र चालक गोरखा नगरपालिका-९ का करिब ३३ वर्षीय ईश्वर अमगाईंलाई नियन्त्रणमा लिएको छ।
मंसिर १०, २०८३ बिहीबार ११:४२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।