अब मिलाएर कमाउने दिन गए, गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

अब मिलाएर कमाउने दिन गए, गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि कमजोरी स्वीकार्य नहुने चेतावनी दिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बन्न र नियामक निकायलाई कानुनी अधिकार प्रयोग गरी जवाफदेहिता स्थापित गर्न निर्देशन दिए।

राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित हुन कठिन हुने र तोकिएअनुसार इन्टरनेट गति नपाइनु गम्भीर विषय भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भने, “गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो।”

सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने मात्र नसोची गुणस्तरीय सेवा दिएर मात्रै नाफा कमाउने व्यावसायिक संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा उनले वर्षौंदेखि सरकारलाई बुझाउनुपर्ने अर्बौँ रुपैयाँ बक्यौता नतिर्ने, अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत व्यवसाय विस्तार गरिरहने र पहिले आफ्नो दायित्व पूरा नगरी प्रश्न उठाउने प्रवृत्तिप्रति कडा असन्तुष्टि पोखे।

 कानुन, नियामक र उपभोक्तालाई चुनौती दिएर व्यवसाय चलाउने दिन सकिएको बताउँदै उनले भने, “अब मिलाएर कमाउने दिन गए। काम गरेर, जवाफदेहिता देखाएर र गुणस्तरीय सेवा दिएर मात्रै पैसा कमाउन सकिन्छ भन्ने स्थापित गर्नु छ।”

अनुरोध र पत्राचारले मात्रै जवाफदेहिता स्थापित नहुने भन्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्राधिकरणलाई मन्त्रालयको निर्देशन नपर्खी स्वतन्त्र रूपमा कारबाही अघि बढाउन आग्रह गरे।

इन्टरनेटको मूल्यवृद्धिबारे अफवाह फैलाउने र उपभोक्तालाई भ्रममा पार्ने गतिविधि सह्य नहुने स्पष्ट पार्दै उनले सरकार नीतिगत तथा कानुनी सुधारका लागि तयार रहे पनि कानुनविपरीतका गतिविधिलाई संरक्षण नगर्ने बताए।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले सेवाको गुणस्तर सुधार सरकार, नियामक र सेवा प्रदायकको साझा दायित्व भएको बताए।

निर्देशन दिएर मात्रै सेवामा अपेक्षित सुधार नआएकाले अब समस्या पहिचान, समाधानका उपाय, जिम्मेवारी र समयसीमासहितको स्पष्ट कार्ययोजना आवश्यक रहेको उनको भनाइ थियो।

मंसिर १०, २०८३ बिहीबार १२:४८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।