मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव एकनारायण अर्याल सीमा क्षेत्रबाट पक्राउ
काठमाडौं : मलेसिया जाने श्रमिकलाई ठगी गरेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।
उनलाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्याललाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया अघि बढाएको छ।
मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको कसुरमा सीआईबीले अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
अर्यालमाथि तत्कालीन श्रमसचिव रहँदा मलेसिया कामदार पठाउने बहानामा मलेसियन सरकारसँग भएको सम्झौताविपरीत अवैध रूपमा रकम सङ्कलन गरी मलेसिया पठाएर ठगी गरेको आरोप लगाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जाहेरी दिएपछि सीआईबीले ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत यस प्रकरणको अनुसन्धान अघि बढाएको हो।
यसअघि यही प्रकरणमा दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ परी म्याद थप भएर अनुसन्धान भइरहेको छ।
पक्राउ पर्ने उच्चपदस्थहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुङ्गाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङलगायत रहेका छन्।
मंसिर १०, २०८३ बिहीबार १३:५५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।