‘सारथी’लाई युनिभर्सल सर्टिफिकेट

‘सारथी’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं : आगामी शुक्रबारदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘सारथी’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेको छ।

सोमबार सेन्सर पास भएसँगै अब यो चलचित्र सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन्।

सेन्सर बोर्डका अध्यक्ष विष्णुप्रसाद कोइरालाद्वारा प्रमाणित प्रमाणपत्रअनुसार फिल्म २ घण्टा २२ मिनेट ३१ सेकेन्डको छ।

दुई दशकपछि उत्तम र निरुताको पुनरागमन
पारिवारिक तथा सामाजिक विषयवस्तुमा बनेको ‘सारथी’ को मुख्य आकर्षण करिब दुई दशकपछि अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको पुनरागमन हो।

नेपाली रजतपटमा दर्शकले अत्यधिक रुचाएको यो जोडी लामो समयपछि पुनः एकसाथ पर्दामा देखिन लागेकाले चलचित्रप्रति दर्शकको विशेष चासो रहेको छ।

चलचित्रबाट गिरी विश्वकर्मा र गायत्री जोशी ले नायक-नायिकाका रूपमा डेब्यु गर्दै छन्।

त्यस्तै, चलचित्रमा मुकुन्दकुमार श्रेष्ठ, सम्रान्त थापा, राजेन्द्र केसी, मदन थापा, तुलसी राई, कल्पना थापा, रश्मि गुरुङ, मिलन खड्का, आशिष श्रेष्ठ, विप्लव खड्का, निर्मल सुवेदी, गोविन्दराज खड्का, सागर कँडेल, अनिता कुइँकेल, श्याम कार्की लगायतका कलाकारको अभिनय छ।

ट्रेलरमा हिमाली जनजीवन र विद्रोहको कथा
कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रको सार्वजनिक ट्रेलरले म्याग्दीको विकट र उच्च हिमाली गाउँ गुर्जा आसपासको जनजीवन, गरिबी, आमा-छोराको भावनात्मक सम्बन्ध र स्थानीय थिचोमिचोविरुद्धको संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

ट्रेलरमा निरुता सिंह एक संघर्षशील आमाको फरक र सशक्त भूमिकामा देखिएकी छन् भने मुकुन्दकुमार श्रेष्ठ र उत्तम प्रधान पनि गम्भीर चरित्रमा प्रस्तुत भएका छन्।

तारा थापा ‘किम्भे’को प्रस्तुतिमा किम्भे प्रोडक्सन र धीराज इन्फिनिटी फिल्म्स को सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्।

त्यस्तै, कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ, सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिशन थापा तथा लाइन प्रोड्युसरमा अमिर केसी रहेका छन्।

चलचित्रमा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत, संकल भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।

मंसिर ८, २०८३ मंगलबार १३:०८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।