सहमति कार्यान्वयन नभए २६औँ सत्याग्रहसहित आन्दोलन थाल्ने डा. केसीको चेतावनी
काठमाडौं : विगतका सहमति कार्यान्वयन गर्नुको साटो सरकारले उल्टै सहमति उल्लंघन गरेको भन्दै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २६औँ सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
डा. केसीको तर्फबाट विजय बाबु शिवाकोटीले प्रेस विज्ञप्ति जारी गरेर मंसिर ११ गतेभित्र सहमति विपरीतका निर्णय नसच्याइए र सहमतिहरू कार्यान्वयन नगरिए पुनः आन्दोलन सुरु गर्न बाध्य हुने चेतावनी दिइएको हो।
सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गर्नुका साथै त्यसको कार्यक्षेत्रसमेत तोकेको उल्लेख गर्दै उनले सहमतिहरू शीघ्र कार्यान्वयन गर्न गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए।
२४औँ सत्याग्रहका क्रममा भएका सहमतिहरू कार्यान्वयन नगरिएपछि सुरु गरिएको २५औँ सत्याग्रह सरकारसँग पुनः सहमति भएपछि स्थगित गरिएको उनले स्मरण गरे।
स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लंघन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्। "सहमतिको पालना सरकारको नैतिक तथा राजनैतिक दायित्व हो," विज्ञप्तिमा उल्लेख छ।
मंसिर १०, २०८३ बिहीबार १४:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।