धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
काठमाडौं : नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालको सहकार्यमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा आएको छ।
नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित मङ्गलबार अस्पताल परिसरमा उक्त वार्डको उद्घाटन गरिएको हो।
नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरे।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापित यस वार्डबाट जलनका बिरामीले तत्काल उपचारसँगै शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोगजस्ता विशिष्टीकृत सेवा पाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा अध्यक्ष चौधरीले सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचारबाट वञ्चित हुन नपरोस् भनेर बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य पूर्वाधारमा योगदान गरेको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा सञ्चालित निःशुल्क जलन शल्यक्रिया शिविरबाट करिब पाँच सय जलन प्रभावितले उपचार पाएको उल्लेख गर्दै यो वार्ड सोही अभियानको निरन्तरता भएको जानकारी दिए।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले बैंकसँगको सहकार्यले ग्रामीण समुदायका जलन पीडितलाई समेत गुणस्तरीय उपचारको पहुँचमा ल्याउँदै देशकै उत्कृष्ट नमुना सेवा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
मंसिर ९, २०८३ बुधबार ०९:१६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।