राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिदाका दिन र अतिरिक्त समयमा पनि विशेषज्ञ स्वास्थ्य सेवा दिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिदाका दिन र अतिरिक्त समयमा पनि विशेषज्ञ स्वास्थ्य सेवा दिने

दाङ : घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक बिदाका दिन र नियमित कार्यालय समयबाहेक अतिरिक्त समयमा समेत विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गर्ने भएको छ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालद्वारा जारी सूचनाअनुसार कार्यकारी परिषद्बाट स्वीकृत ‘विस्तारित स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ अनुरूप तत्काल सेवा सुरु गर्न लागिएको हो।

निर्णयअनुसार शनिबार, आइतबार तथा अन्य घोषित सार्वजनिक बिदाका दिनमा बिहान ८ बजेदेखि सेवा प्रदान गरिनेछ।

त्यस्तै, कार्यालय सञ्चालन हुने दिनमा बिहान ७ देखि ९ बजेसम्म र बेलुका ४ देखि ९ बजेसम्म अतिरिक्त समयमा सेवा प्रवाह हुने जनाइएको छ।

विस्तारित सेवाअन्तर्गत विशेषज्ञ ओपीडी, प्रयोगशाला, शल्यक्रिया तथा जनरल हेल्थ चेक-अपलगायतका सेवा उपलब्ध हुनेछन्।

सरकारको नीति कार्यान्वयन, प्रतिष्ठानलाई आत्मनिर्भर बनाउने योजना तथा सेवारत चिकित्सक र कर्मचारीको हितलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको प्रतिष्ठानले स्पष्ट पारेको छ।

यस निर्णयबाट दाङसहित रोल्पा, रुकुम, सल्यान र प्युठानलगायतका जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य उपचारमा ठुलो राहत पुग्ने विश्वास गरिएको छ।

मंसिर १०, २०८३ बिहीबार १०:१४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।