क्रिकेटर करणको रिसोर्टमा प्रधानमन्त्री दम्पती !

क्रिकेटर करणको रिसोर्टमा प्रधानमन्त्री दम्पती !

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मुस्ताङ भ्रमणका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसीद्वारा सञ्चालित ‘लेते गाउँ रिसोर्ट’ मा परिवारसहित बसेको खुलेको छ।

रिसोर्टले सामाजिक सञ्जालमार्फत केही समयअघिको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री शाह र उनको परिवारप्रति हार्दिक आभार व्यक्त गरेको हो।

रिसोर्टले मंगलबार एक पोस्ट राख्दै भनेको छ, “मुस्ताङ भ्रमणका क्रममा हाम्रो मुस्ताङको सानो घर, लेते गाउँ रिसोर्टमा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू आफ्नो परिवारसहित पाल्नुभएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ।”

रिसोर्टले प्रधानमन्त्री शाहको भ्रमणले आफूहरूलाई मात्र नभई समग्र मुस्ताङको पर्यटन क्षेत्रलाई नै ठुलो हौसला र प्रोत्साहन मिल्ने विश्वाससमेत व्यक्त गरेको छ।

“हाम्रो सानो घरलाई आफ्नो गन्तव्य बनाउनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई आतिथ्यता प्रदान गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो”, रिसोर्टले लेखेको छ।

उक्त तस्बिर केही समयअघिको भएको समेत रिसोर्टले स्पष्ट पारेको छ।

भदौमा गरेका थिए तीनदिने पारिवारिक मुस्ताङ भ्रमण
प्रधानमन्त्री शाहले यसअघि गत भदौ ५ देखि ७ गतेसम्म परिवारसहित मुस्ताङको तीनदिने निजी भ्रमण गरेका थिए।

भदौ ५ गते कास्कीको अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’मा बास बसेर उनी भदौ ६ गते सडकमार्ग हुँदै मुस्ताङ पुगेका थिए।

मुस्ताङको मुक्तिनाथ दर्शनसहितको उक्त भ्रमणताका उनी लेते क्षेत्रको सोही रिसोर्टमा पुगेको भए पनि त्यतिबेला उनको मुस्ताङभित्रको बसाइ वा रिसोर्टको विवरण सार्वजनिक भएको थिएन।

रिसोर्टको फेसबुक पेजमा राखिएको भिडियो अनुसार बेनी-जोमसोम सडकखण्डमा पर्ने रिसोर्ट भदौ ८ गतेदेखि औपचारिक रूपमा सर्वसाधारणका लागि खुलेको हो।

मंसिर ८, २०८३ मंगलबार १३:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।