इजिप्टमा इन्धन ट्याङ्कर पल्टिएर भीषण आगलागी : ३१ जनाको मृत्यु, २१ घाइते
एजेन्सी : इजिप्टको राजधानी कायरोमा बुधबार साँझ भएको भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा इन्धन बोकेको एक ट्याङ्कर दुर्घटनाग्रस्त भएपछि आगो सल्किएको हो। आगोको चपेटामा परेर नजिकैबाट गुडिरहेका अन्य थुप्रै सवारी साधनसमेत जलेका छन्।
यो दुर्घटना कायरोको वर्राक क्षेत्रस्थित रिङरोडमा भएको हो। घटनालगत्तै आगोले जलेका तथा धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएका घाइतेहरूको नजिकका अस्पतालहरूमा उपचार गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा राजमार्गमा आगोको ठुलो मुस्लो र आकाशमा कालो धुवाँको बाक्लो गुच्छा देखिएको छ। आगो यति भीषण थियो कि वरपर रोकिएका धेरै सवारी साधनसमेत जलेर खरानी भएका छन्।
यद्यपि, अधिकारीहरूले हालसम्म आगलागीको आधिकारिक कारण स्पष्ट पारेका छैनन्। सरकारी सञ्चारमाध्यमका अनुसार ट्याङ्कर पल्टिँदा त्यसमा रहेको पेट्रोल सडकमै पोखिएको र त्यसले नजिकका अन्य सवारी साधनलाई पनि चपेटामा लिएको थियो।
सरकारी पत्रिका ‘अल–अहराम’ ले अनुसन्धानसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार निजी ठेकेदारको स्वामित्वमा रहेको उक्त ट्याङ्कर राजमार्ग हुँदै गुडिरहेको थियो।
सोही क्रममा ट्याङ्करको अगाडि हाई–भोल्टेज बिजुलीको तार खसेपछि चालकले नियन्त्रण गुमाएका थिए। त्यसपछि ट्याङ्कर डिभाइडर नाघेर पल्टिँदा आगलागी भएको बताइएको छ।
मंसिर १०, २०८३ बिहीबार ०८:३४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।