सम्बन्ध टुटेपछिको ईर्ष्याले निम्त्याएको दोहोरो हत्या, पूर्वप्रहरी अधिकारी दोषी ठहर

सम्बन्ध टुटेपछिको ईर्ष्याले निम्त्याएको दोहोरो हत्या, पूर्वप्रहरी अधिकारी दोषी ठहर

एजेन्सी : अस्ट्रेलियाको न्यु साउथ वेल्सका पूर्वप्रहरी अधिकारी बो लामार-कोन्डन दुई युवाको हत्या अभियोगमा दोषी ठहर भएका छन्।

सिड्नीस्थित सर्वोच्च अदालतमा करिब १० हप्ता चलेको सुनुवाइपछि १२ सदस्यीय जुरीले बुधबार उनलाई दुईवटा हत्या तथा घरमा अनधिकृत प्रवेश गरी चोरी गरेको अभियोगमा दोषी ठहर गरेको हो।

अभियोजन पक्षले अदालतमा पेस गरेको प्रमाणअनुसार ३१ वर्षीय लामार-कोन्डनले सन् २०२४ फेब्रुअरी १९ मा सिड्नीको प्याडिङ्टनस्थित जेसी बेयर्डको घरमा पुगेर उनलाई गोली हानेका थिए। लगत्तै त्यहीँ रहेका बेयर्डका साथी लुक डेभिसको पनि उनले गोली प्रहार गरी हत्या गरेका थिए।

अदालतमा प्रस्तुत विवरणअनुसार घटनाको दिन लामार-कोन्डन फुड डेलिभरी व्यक्तिको भेषमा बेयर्डको घर पुगेका थिए। उनले प्रहरीको क्रममा प्रयोग गर्ने सरकारी पेस्तोलबाटै दुवै जनामाथि गोली चलाएको अभियोजन पक्षको दाबी थियो।

गोली हानी मारिँदा लुक डेभिस (बायाँ) र जेसी बेयर्ड महिनौंदेखि डेटिङमा थिए।

२६ वर्षीय टेलिभिजन प्रस्तोता बेयर्ड र २९ वर्षीय विमान परिचारक डेभिसको शव घटनाको आठ दिनपछि सिड्नीको दक्षिण-पश्चिममा पर्ने बुङ्गोनिया क्षेत्रमा सर्फबोर्ड राख्ने झोलाभित्र फेला परेको थियो।

बेयर्डसँगको सम्बन्ध टुटेपछि लामार-कोन्डन उनीप्रति अत्यधिक आसक्त र ईर्ष्यालु बनेको तथा त्यसैको आवेगमा योजनाबद्ध रूपमा हत्या गरेको अभियोजन पक्षको जिकिर थियो। बेयर्डको हत्यापछि घटनाको प्रत्यक्षदर्शी बन्न सक्ने भएकाले डेभिसलाई पनि मारिएको अभियोजन पक्षले दाबी गरेको थियो।

यता, लामार-कोन्डनले भने अदालतमा दुवै जनासँग छुट्टाछुट्टै झडप हुँदा आत्मरक्षाका क्रममा गोली चलेको बयान दिएका थिए।

मारिनुभन्दा केही समय अघि पिंक कन्सर्टमा जेसी बेयर्ड र लुक डेभिस।

यद्यपि, जुरीले  करिब दुई घण्टाको विचारविमर्शपछि उनको प्रतिरक्षा अस्वीकार गर्दै सर्वसम्मत रूपमा दोषी ठहर गरेको हो। उनलाई बेयर्डको घरमा अनधिकृत प्रवेश गरी सामान चोरी गरेको अर्को अभियोगमा समेत दोषी ठहर गरिएको छ।

अदालतमा फैसला सुनाइँदा मृतकका परिवारका सदस्य तथा आफन्तहरू भावुक बनेका थिए। अदालतबाट बाहिरिँदा दुवै मृतककी आमाले एकअर्काको हात समातेका थिए।

मंसिर १०, २०८३ बिहीबार ०७:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।