दानबहादुरको रिटमा आएन अन्तरिम, लिखित जवाफ माग्दै दिइयो अग्राधिकार

दानबहादुरको रिटमा आएन अन्तरिम, लिखित जवाफ माग्दै दिइयो अग्राधिकार

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी नगरी मन्त्रीपरिषद्को निर्णय मागेको छ।

सर्वोच्चका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधवार भएको सुनुवाइपछि कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको भन्दै मन्त्रीपरिषद्को निर्णयको प्रमाणित कपी माग्दै सुनुवाइलाई अग्राधिकार दिएको छ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै बाटोको म्याद बाहेक १५ दिन समय तोकेर लिखित जवाफ माग्दै म्यादभित्र जवाफ आएपछि नियमअनुसार पेस गर्न भनेको छ। अन्तरिम आदेशका लागि निर्णय र सम्बन्धित फाइल अध्ययन गर्नुपर्ने भन्दै इजलासले कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउनेबारे मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णयको प्रमाणित प्रतिलिपि र सो सम्बन्धी अन्य फायल भए सो समेत महान्यायाधिवक्ता कार्यालयबाट झिकाउन समेत आदेश दिएको छ।

सो रिट शीघ्र निर्णय गर्नुपर्ने प्रकृतिको रहेको भन्दै इजलासले रिटलाई अग्राधिकार दिएर शीघ्र पेस गर्न समेत भनेको छ।

सरकारले कात्तिक १८ मा प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने निर्णय गर्दै सोही दिन मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। केसीलाई सोही दिन आइजिपीको दर्ज्यानी चिन्ह लगाइदिएर पद बहाली समेत सोही दिन भएको थियो।

त्यसपछि कार्की सो निर्णयको विरुद्धमा रिट लिएर सर्वोच्च गएकोमा सर्वोच्च प्रशासनले पहिलो दिन होल्ड गरेर दोस्रो दिन मात्र रिट दर्ता गरेको थियो।

मंसिर ९, २०८३ बुधबार १९:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।