दानबहादुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी, अन्तरिम आदेश आउला?

दानबहादुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी, अन्तरिम आदेश आउला?

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार उक्त निवेदनमाथि सुनुवाइ चलिरहेको सर्वोच्च अदालतको पेसी विवरणमा उल्लेख छ। आजको सुनुवाइ कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित छ।

कात्तिक १८ गतेको मन्त्रिपरिषद् निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी डा. मनोजकुमार केसीलाई विपक्षी बनाई उत्प्रेषण रिट (०८३-WO-०४९४) दर्ता गराएका थिए।

यसअघि मंसिर २ गते न्यायाधीश पौडेलको एकल इजलासले विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम रिटलाई अग्राधिकार प्रदान गरेको थियो।

सोही इजलासले अन्तरिम आदेशबारे दुवै पक्षलाई राखेर छलफल गर्न मंसिर ७ गते पेसी तोक्दै मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णयको प्रमाणित प्रतिलिपिसमेत झिकाउन आदेश दिएको थियो।

मंसिर २ को बहसमा कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य, दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइरालालगायत कानुन व्यवसायी सहभागी थिए।

यसबीच मंसिर ४ गते आईजीपी डा. केसीका नाममा जारी म्याद बुझाउन गएका अदालतका तामेलदारलाई प्रहरी प्रधान कार्यालयले ‘मिटिङमा जानुभएको र फर्किआउनुहुने’ भन्दै कार्यालय समयसम्म पर्खाएर अन्ततः कार्यालयले समेत म्याद बुझ्न इन्कार गरेको थियो।

तामेलदारले म्याद तामेल हुन नसकेको प्रतिवेदन पेस गरेपछि मंसिर ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रहरी प्रधान कार्यालयका अधिवक्ताको अनुरोधबमोजिम अधिवक्तामार्फत नै म्याद बुझाउन आदेश दिएको थियो।

सोही दिनको आदेशमा विषयवस्तुको संवेदनशीलता विचार गरी शीघ्र निर्णय गर्नुपर्ने देखिएकाले पेसीमा प्राथमिकता दिई पालो आउने गरी आज मंसिर ९ गतेका लागि पेसी तोकिएको थियो।

मंसिर ९, २०८३ बुधबार ११:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।