आईजीपीमा फर्किएलान् दानबहादुर? पुनर्बहाली रिटमा संयुक्त इजलासमा सुनुवाइ
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।
गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर महानिरीक्षकसरह सेवा-सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउँदै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो।
सोही निर्णयविरुद्ध कार्कीले कात्तिक १९ मा पेस गरेको रिट २० गते दर्ता भएको थियो। तिहार बिदापछि मङ्सिर २ गते न्यायाधीश पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई मङ्सिर ७ गते छलफलका लागि बोलाएको थियो।
यसबीच मङ्सिर ४ गते आईजीपी डा. केसीका नाममा जारी म्याद प्रहरी प्रधान कार्यालयले बुझ्न नमानेपछि सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रधान कार्यालयका अधिवक्ताले ‘प्राविधिक कारण’ देखाउँदै पुनः म्याद बुझ्ने प्रतिबद्धता जनाएका थिए।
सोहीअनुसार इजलासले अधिवक्तामार्फत म्याद बुझाई विषयवस्तुको संवेदनशीलता हेरेर प्राथमिकताका साथ पालो आउने गरी बुधबारका लागि पेसी तोक्न आदेश दिएको हो।
रिटमा कार्कीले आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न तथा केसीलाई आईजीपी नियुक्त गर्नेलगायत सम्पूर्ण निर्णय उत्प्रेषणको आदेशले बदर गरी कार्यकालभरि पदमा काम गर्न दिन परमादेश र अन्तरिम आदेश माग गरेका छन्।
आफूलाई कुनै सूचना, परामर्श, स्पष्टीकरण वा कानुनी प्रावधानबिनै हटाइएको र विशेष सुरक्षा सल्लाहकारमा खटाउनुको एकमात्र उद्देश्य केसीलाई आईजीपी बनाउनु रहेको उनको जिकिर छ।
प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ मा बहालवाला आईजीपीलाई सङ्गठनबाहिर खटाउने वा सरुवा गर्ने व्यवस्था नरहेको तथा नियम १२७ अनुसार आईजीपीको पदावधि चार वर्ष हुने कार्कीले उल्लेख गरेका छन्।
उनले अच्युतकृष्ण खरेल (२०५३) र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य (२०८२) को पुनर्बहालीसम्बन्धी सर्वोच्चको नजिर प्रस्तुत गर्दै अर्को पदमा खटाउने नाममा परोक्ष रूपमा पदमुक्त गर्न नमिल्ने तर्क गरेका छन्।
साथै, आईजीपीसरहका दुई पदाधिकारी राख्दा प्रहरीको आदेश शृङ्खला र निष्पक्षतामा असर पर्ने तथा सुनुवाइमा ढिलाइ भए अपूरणीय क्षति पुग्ने उनको दाबी छ।
मंसिर ९, २०८३ बुधबार १०:१३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।