मलद्वार र भित्री वस्त्रमा २ किलो सुन लुकाएर भन्सार पार, दुई चिनियाँ महिला पक्राउ

मलद्वार र भित्री वस्त्रमा २ किलो सुन लुकाएर भन्सार पार, दुई चिनियाँ महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा २ किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

मङ्गलबार राति करिब ११:१५ बजे क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्दा भन्सार क्षेत्र कटेर बाहिरिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।

कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेका अनुसार उनीहरूले प्लास्टिकले बेरेर गोलाकार बनाइएको ८ थान सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ मलद्वार र भित्री वस्त्रमा लुकाइछिपाई ल्याएका थिए।

बरामद गरिएको पदार्थमध्ये लिन लिनाको साथबाट प्लास्टिकको र्यापसहित १ हजार ३४० ग्रामका ५ थान र लिन सिनपिङको साथबाट १ हजार ८ ग्रामका ३ थान फेला परेको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई बरामद वस्तुको परीक्षण तथा आवश्यक अनुसन्धान भइरहेको र थप कारबाहीका लागि बुधबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइने सुरक्षा कार्यालयले जनाएको छ।

मंसिर ९, २०८३ बुधबार १०:५१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।