आयकरतर्फ सफ्टी हाइजिन लगातार दोस्रो वर्ष मकवानपुरको उत्कृष्ट करदाता

आयकरतर्फ सफ्टी हाइजिन लगातार दोस्रो वर्ष मकवानपुरको उत्कृष्ट करदाता

हेटौँडा : सफ्टी हाइजिन प्रालि आर्थिक वर्ष २०८१/८२ को आयकरतर्फ मकवानपुरमा लगातार दोस्रो वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।

१५औँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय हेटौँडाले कम्पनीलाई सम्मान प्रदान गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंलगायतले कम्पनीलाई सम्मान गरे।

लगातार दोस्रो वर्ष सम्मान ग्रहण गरेको जानकारी दिँदै कम्पनीका निर्देशक विजय पोखरेलले विगत ११ वर्षदेखि सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर र बेबी वाइप्स उत्पादन तथा बिक्री-वितरण गर्दै आएको कम्पनीले आगामी दिनमा गुणस्तर अझै सुधार्दै उपभोक्तामैत्री उत्पादनमा जोड दिने बताए।

कम्पनीका अध्यक्ष यादव घिमिरेले कर तिर्नु कानुनी दायित्व मात्र नभई राष्ट्र निर्माणमा योगदान दिने जिम्मेवारी भएको बताए।

सरकार, निजी क्षेत्र र नागरिक समाजको आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोधबाटै देशको आर्थिक समृद्धि सम्भव हुने उनको भनाइ छ।

मंसिर ९, २०८३ बुधबार १३:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।