लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुँदै, ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
काठमाडौं : सहकारी क्षेत्रलाई शान्ति, सहकार्य र आर्थिक समृद्धिको आधारका रूपमा स्थापित गर्ने उद्देश्यसहित गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तीनदिने ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ आयोजना गरिने भएको छ।
राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको आयोजना र लुम्बिनी प्रदेश सरकारको सहआयोजनामा लुम्बिनी परिसरस्थित बृहत् सभाहलमा सम्मेलन हुन लागेको हो।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा महासङ्घका अध्यक्ष रमेशप्रसाद पोखरेलले सन् २०२६ लाई अन्तर्राष्ट्रिय सहकारी अभियान र संयुक्त राष्ट्रसङ्घले शान्ति वर्षका रूपमा अघि सारेको सन्दर्भ पारेर विश्वव्यापी शान्तिको सन्देश दिन सम्मेलन गर्न लागिएको बताए।
सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ (आईसीए) र आईसीए एसिया प्यासिफिकका नेतृत्वकर्तासहित स्वदेश तथा विदेशका ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
महासङ्घले ३१८ सदस्य सङ्घलाई निमन्त्रणा पठाइसकेको छ भने ७७ वटै जिल्ला र देशभरका करिब ३२ हजार सहकारी सङ्घसंस्थालाई सहभागिताका लागि आह्वान गर्दै अनलाइन दर्ता खुला गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।
सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र र सहकारी अभियन्ताहरूलाई एउटै मञ्चमा ल्याएर शान्ति निर्माण, आर्थिक समृद्धि, दिगो सहकारी विकास र अन्तर्राष्ट्रिय सम्बन्धबारे छलफल गरिनेछ। साथै, अनुभव आदानप्रदान, सहकारी संस्थाहरूको अन्तरभ्रमण र लुम्बिनीका पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रमसमेत तय गरिएको छ।
सहभागिताका लागि नेपाली प्रतिनिधिलाई ६ हजार रुपैयाँ, सार्क राष्ट्रका प्रतिनिधिलाई १०० अमेरिकी डलर र अन्य देशका प्रतिनिधिलाई २५० अमेरिकी डलर शुल्क तोकिएको छ। उक्त शुल्कमा बिहानको खाजा र दिउँसोको खानासमेत समावेश हुनेछ।
सहकारीको मूल भावना नै शान्ति र सहअस्तित्व भएको उल्लेख गर्दै अध्यक्ष पोखरेलले नेपालको द्वन्द्वकाल तथा रुवान्डा नरसंहारपछिको पुनर्निर्माणमा सहकारीले खेलेको भूमिका स्मरण गरे।
हाल नेपाली सहकारी क्षेत्रमा देखिएको वित्तीय अपचलन र समस्या समग्र अभियानको साझा चुनौती भएको उनको भनाइ छ।
“एक्लै सहकारी अभियानले पनि समस्या समाधान गर्न सक्दैन र राज्य एक्लैले पनि समाधान गर्न कठिन हुन्छ,” उनले भने, “त्यसैले राज्य, सहकारी अभियान र सहकारीकर्मी मिलेर साझा समस्याका रूपमा लिएर समाधान गर्नुपर्छ।”
मंसिर ९, २०८३ बुधबार ०८:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।