बिनाहिजाब गीत गाएकी इरानी गायिकालाई ७४ कोर्रा प्रहार, दुई वर्ष देश छाड्न प्रतिबन्ध
एजेन्सी : इरानकी चर्चित गायिका परस्तू अहमदी र उनको टोलीका चार सदस्यलाई बिनाहिजाब गीत गाएको आरोपमा जनही ७४ कोर्रा हानिएको छ।
वकिलहरूले बीबीसीलाई बताएअनुसार सोमबार इरानको कोम सहरमा २९ वर्षीया गायिका अहमदीसहित तीन संगीतकार र एक निर्मातालाई उक्त सजाय दिइएको हो।
सन् २०२४ को डिसेम्बरमा कोम सहरमा आयोजित एउटा कन्सर्टमा अहमदीले बिनाहिजाब र बाहुला नभएको पहिरनमा गीत गाएर आफ्नो युट्युब च्यानलबाट लाइभ स्ट्रिम गरेकी थिइन्।
शरिया कानुनमा आधारित इरानी नियमअनुसार महिलाले कपाल छोप्ने स्कार्फ र शरीरको बनावट नदेखिने खुकुलो तथा शालीन कपडा लगाउनु अनिवार्य छ।
अदालतको फैसला र सजाय कार्यान्वयन
यसै वर्षको जुन महिनामा कोमको एक अदालतले अहमदीसहित नौ जनालाई ‘अश्लील तथा अभद्र सामग्री’ प्रकाशन गरी ‘सार्वजनिक शालीनता उल्लंघन गरेको’ अभियोगमा दोषी ठहर गरेको थियो। यद्यपि उनीहरूले उक्त आरोप अस्वीकार गरेका थिए।
अदालतले ७४ कोर्रा हान्ने सजायसँगै उनीहरूमाथि अडियो-भिजुअल गतिविधि गर्न र दुई वर्षसम्म देश छाडेर बाहिर जानसमेत प्रतिबन्ध लगाएको थियो।
सेप्टेम्बरको अन्त्यतिर अदालतले उनीहरूको पुनरावेदन खारेज गर्दै सजाय सदर गरेको थियो। सोमबार कोमस्थित ‘क्रिमिनल सेन्टेन्स इन्फोर्समेंट अफिस’को तेस्रो शाखामा उनीहरूलाई कोर्रा हानिएको हो।
वकिलहरूले सजाय उल्ट्याउन, कम गराउन वा तत्कालका लागि रोक्न भरमग्दुर प्रयास गरे पनि कार्यान्वयन शाखाले तत्कालै सजाय लागू गर्ने अडान लिएको थियो।
इरानी पत्रिका ‘एतेमाद’ ले बचाउ पक्षका अर्का वकिल मुस्तफा नीलीलाई उद्धृत गर्दै अहमदीसँगै कोर्रा खाने चार पुरुष सहकर्मीहरू सोहेल फकीह–नासिरी, अमीन ताहेरी, अमीराली पीरनिया र मोहसेन लश्करी रहेको जनाएको छ।
मानवअधिकारकर्मीद्वारा कडा निन्दा
इरानी कलाकार र मानवअधिकारकर्मीहरूले यो सजायलाई क्रूर, अमानवीय र यातनाविरुद्धको अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा आलोचना गरेका छन्।
अमेरिकास्थित ‘सेन्टर फर ह्युमन राइट्स इन इरान’की एड्भोकेसी निर्देशक बहार गन्देहारीले आफूले चाहेको पहिरन लगाएर गीत गाएकै भरमा कोर्रा हान्नु मौलिक अधिकारको खुला उल्लंघन र भेदभावपूर्ण कानुनलाई चुनौती दिने महिलाको स्वतन्त्रता दबाउने डरलाग्दो उदाहरण भएको टिप्पणी गरिन्।
हिजाब विरोध र बढ्दो दमनको पृष्ठभूमि
सन् २०२२ को सेप्टेम्बरमा ‘मोरालिटी पुलिस’ले ‘गलत तरिकाले’ हिजाब लगाएको आरोपमा पक्राउ गरेकी २२ वर्षीया कुर्द युवती महसा अमीनीको हिरासतमै मृत्यु भएपछि इरानमा देशव्यापी प्रदर्शन भएको थियो।
सुरक्षा बलको कारबाहीमा सयौँको ज्यान गएको उक्त आन्दोलनपछि पनि धेरै इरानी महिलाले ड्रेस कोडको खुलेआम अवज्ञा गर्दै आएका छन्।
यसैबीच, यस वर्षको जनवरीमा आर्थिक संकटका कारण चर्किएको सरकारविरोधी प्रदर्शन दबाउन सुरक्षा बलले बल प्रयोग गर्दा ठुलो संख्यामा मानिसको मृत्यु र हजारौँ पक्राउ परेका थिए।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलसँग इरानको लडाइँ सुरु भएयता प्रदर्शनकारीविरुद्ध मृत्युदण्डको सजाय झनै बढाइएको छ।
नर्वेस्थित संस्था ‘इरान ह्युमन राइट्स’ का अनुसार जनवरीको प्रदर्शनका कम्तीमा ३९ जना र सन् २०२२ को आन्दोलनका २ जनालाई मृत्युदण्ड दिइसकिएको छ।
त्यस्तै प्रतिबन्धित विपक्षी समूहसँग जोडिएका १६ जना र जासुसी वा विदेशी शक्तिसँग मिलेमतो गरेको आरोपमा १७ जनालाई पनि फाँसी दिइएको छ।
संस्थाका अनुसार जनवरीमा पक्राउ परेका ६ महिला र ५ नाबालिगसहित अन्य १२१ जना प्रदर्शनकारीलाई मृत्युदण्ड सुनाइएको छ र उनीहरूलाई जुनसुकै बेला फाँसी दिइने खतरा छ।
मंसिर ८, २०८३ मंगलबार ०९:१९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।