हवाई रुटको गाँठो फुकाउने सहमतिले लुम्बिनीमा उत्साह, विमानस्थल चलाउन भने अझै चुनौती!
बुटवल : अर्बौं रुपैयाँ लगानी गरेर भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, तर जहाजलाई सहज रूपमा नेपाल प्रवेश गराउने हवाई रुटको अभावको कारण विमानस्थलले अपेक्षित गति लिन सकेन।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तयार भए पनि हवाई मार्गको जटिलता, एयरलाइन्सको अनिच्छा र नीतिगत अन्योलका कारण विमानस्थलले हालसम्म अपेक्षित गति लिन सकेको थिएन।
तर, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच भैरहवा हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएसँगै विमानस्थलको अवस्था बदल्ने आशा पलाएको छ। हाल एकतर्फी रहेको बी ३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने नेपाल र भारतबीच सहमति भएको छ।
संयुक्त वक्तव्यमा उल्लेख सहमतिअनुसार यसको कार्यान्वयनका लागि प्राविधिक परामर्शमार्फत आवश्यक मोडालिटी तय गरिनेछ। सहमति भएसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनका लागि भारतको आकाश हुँदै नेपाल प्रवेश मार्गको लागि पहलको माग राख्दै सङ्घर्षरत पर्यटन तथा हवाई क्षेत्रका व्यवसायीहरूमा उत्साह थपिएको छ।
उनीहरूले यो सहमति नेपालको लागि महत्त्वपूर्ण उपलब्धिको रूपमा चर्चा गरेका छन्। तर, विमानस्थलको दिगो व्यावसायिक सञ्चालनका लागि भने हवाई रुटको सहमति मात्र पर्याप्त नहुने उनीहरूको बुझाइ छ।
सहमतिको कार्यान्वयनमा सरकारको सक्रियता, एयरलाइन्स आकर्षित गर्ने नीतिगत व्यवस्था, हवाई सेवा विस्तार लगायतका आन्तरिक व्यवस्थापनका विषयमा पनि सरकार उतिकै संवेदनशीलको आवश्यकता औँल्याउँछन्।
रुटको अभावले खुम्चिएको सम्भावना
विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, होटल तथा पर्यटन व्यवसाय विस्तार हुने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरेका थिए। तर, अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणसँगै हवाई सम्पर्क विस्तार हुन नसक्दा अपेक्षित परिणाम प्राप्त हुन सकेन।
विशेषगरी पश्चिमतर्फबाट नेपाल आउने अन्तर्राष्ट्रिय विमानलाई भैरहवा प्रवेशका लागि सहज र छोटो हवाई मार्ग उपलब्ध नहुँदा उडान सञ्चालनको व्यावसायिक आकर्षण प्रभावित हुँदै आएको थियो। कतिपय अवस्थामा विमानलाई लामो दूरी घुमेर नेपाल प्रवेश गर्नुपर्ने अवस्थाले उडानको समय, इन्धन खर्च र सञ्चालन लागत बढाउने समस्या थियो।
हवाई रुटको जटिलता, एयरलाइन्सलाई आवश्यक व्यावसायिक सुविधा र नियमित उडानको सुनिश्चितता नहुँदा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेन। विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार हुँदाहुँदै पनि पर्याप्त हवाई सम्पर्क नहुँदा होटल, ट्राभल, पर्यटन, यातायात तथा अन्य सेवा व्यवसायले अपेक्षित लाभ लिन पाएनन्।
नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेश मार्गको माग गर्दै आएको थियो। गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको तर्क रहँदै आएको थियो।
यसअघि विभिन्न उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय छलफलमा हवाई रुटको विषय उठे पनि ठोस सहमति हुन सकेको थिएन। प्राविधिक विषय, हवाई क्षेत्रको व्यवस्थापन र सुरक्षा संवेदनशीलता लगायतका विषयमा दुई देशबीच छलफल हुँदै आएको थियो।
अब पर्यटन व्यवसायले गति लिने अपेक्षा
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेलले भैरहवा हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले यस क्षेत्रको आर्थिक विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको बताए। "विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन सँगै व्यापार, होटल, यातायात तथा अन्य व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ। तर यो कार्यान्वयन कसरी हुन्छ। त्यो भने हेर्न बाँकी छ," उनले भने।
विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार आवश्यक रहेको भन्दै उनले रुटको समस्या समाधानसँगै एयरलाइन्स आकर्षित गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए।
पर्यटन व्यवसायी माधव नेपालले हवाई रुटको सहमतिलाई लुम्बिनी क्षेत्रको पर्यटन विकासका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए। लुम्बिनीमा आउने विदेशी पर्यटकलाई सहज हवाई सम्पर्क उपलब्ध गराउन सके पर्यटकको आगमन बढ्ने, बसाइ अवधि लम्बिने र पर्यटन व्यवसायमा लगानीको वातावरण बन्ने उनको भनाइ छ।
अन्तर्राष्ट्रिय उडान विस्तारले पर्यटन व्यवसायीलाई नयाँ बजारसँग जोड्ने अवसरसमेत प्रदान गर्ने उनले बताए।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले हवाई रुटको समस्या समाधान हुने सहमतिले उद्योगी तथा व्यवसायीलाई उत्साहित बनाएको बताए। अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन भए व्यापारिक आवागमन, लगानी प्रवर्द्धन तथा औद्योगिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
उनले विमानस्थल सञ्चालनले पर्यटन क्षेत्रमा मात्रै नभई उद्योग तथा व्यापार क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गर्न सक्ने बताए। विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न सरकारले आवश्यक नीतिगत सहजीकरण र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाई छ।
नाटा लुम्बिनीकी पूर्व अध्यक्ष रचना पन्तले भैरहवा हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न महत्त्वपूर्ण सहयोग पुग्ने बताइन्। लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको प्रमुख धार्मिक गन्तव्य भएकाले अन्तर्राष्ट्रिय उडान विस्तारसँगै पर्यटकको आगमन बढ्ने सम्भावना रहेको उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले विमानस्थलको प्रभावकारी सञ्चालनले यस क्षेत्रको आर्थिक गतिविधि विस्तारमा योगदान पुराउने बताए। अन्तर्राष्ट्रिय पर्यटकको आवागमन बढ्दा होटल, रेस्टुरेन्ट, यातायात, व्यापार तथा सेवा क्षेत्रमा कारोबार बढ्ने अपेक्षा गरिएको उनले बताए।
हवाई रुट मात्रै पर्याप्त छैन!
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले भैरहवा विमानस्थलको दिगो व्यावसायिक सञ्चालनका लागि हवाई रुटको सहमति महत्त्वपूर्ण भए पनि त्यसलाई कार्यान्वयनमा लैजान सरकारको सक्रियता आवश्यक रहेको बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल लुम्बिनीको प्रवेशद्वार मात्रै नभई नेपालको मध्य भागमा रहेको रणनीतिक पर्यटन पूर्वाधार रहेको भन्दै उनले भारतसँगको स्थलमार्ग, प्रमुख सडक सञ्जाल, सीमावर्ती पर्यटन बजार तथा बौद्ध सर्किटको निकटताले विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सम्भावना बलियो रहेको उनले बताए।
थापाले हवाई रुट सहज भएपछि थाइल्याण्ड, भारत तथा अन्य बौद्धमार्गी मुलुकबाट भैरहवा हुँदै लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी उडान तथा पर्यटन प्याकेज विस्तार हुनुपर्ने बताए। विमानस्थल सञ्चालनका लागि एयरलाइन्स आकर्षित गर्ने नीतिगत व्यवस्था, हवाई सेवा विस्तार र निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
सरकारले हवाई सम्पर्क र पूर्वाधारको वातावरण बनाउने तथा निजी क्षेत्रले पर्यटक आकर्षित गर्ने पर्यटन प्याकेज, सेवा र बजार प्रवर्द्धनमा काम गर्नुपर्ने उनले बताए।
मंसिर ७, २०८३ सोमबार १९:३७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।