प्रधानमन्त्री शाहले पाएको जनादेश नयाँ पुस्ताको आकाङ्क्षा र आशाको प्रतिबिम्ब : मोदी

प्रधानमन्त्री शाहले पाएको जनादेश नयाँ पुस्ताको आकाङ्क्षा र आशाको प्रतिबिम्ब : मोदी

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताले प्रधानमन्त्री वालेन्द्र शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताको आकाङ्क्षा र आशाको प्रतिबिम्ब भएको बताएका छन्।

प्रधानमन्त्री बनेपश्चात् पहिलो विदेश राजकीय भ्रमणमा भारत गएको शाहसँगको भेटवार्तापछि आयोजित यहाँस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा मोदीले समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने पनि बताए। 

छोटो समयको कुराकानीका क्रममा शाहसँग नेपालको भविष्य र भारत-नेपाल सम्बन्धको सन्दर्भमा स्पष्ट दृष्टिकोण र प्रतिबद्धता रहेको महसुस भएको उनले बताए। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनमा प्रधानमन्त्री शाहले विश्वकै युवा प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दा उनको दूरदर्शिता स्पष्ट देखिएको मोदीले भने। 

भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै उनले दुवै देशका खुसी र चुनौती साझा रहेको बताए। एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको उल्लेख गर्दै उनले हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। 

मंसिर ७, २०८३ सोमबार १५:१८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।