व्यवसायको लागत बढाउने र असान्दर्भिक अर्थसम्बन्धी कानुन खारेज तथा संशोधनको प्रक्रियामा

व्यवसायको लागत बढाउने र असान्दर्भिक अर्थसम्बन्धी कानुन खारेज तथा संशोधनको प्रक्रियामा

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत बढाउने र अर्थसम्बन्धी असान्दर्भिक देखिएका कानुनहरू खारेज तथा संशोधनको प्रक्रिया अघि बढाइएको बताएकी छन्। 

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्यान्वयनमा गलत प्रयोग हुन सक्ने तथा अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका कानुनको खारेजी तथा संशोधन अघि बढाइएको स्पष्ट पारिन्। 

“उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन, आर्थिक सुधारको मार्गचित्र, २०८१ ले दिएका सुझावका आधारमा  नै अनावश्यक र असान्दर्भिक भएका ऐनहरूलाई खारेज गर्न लागिएको हो”, उनले भनिन्, “सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा यस्ता ऐन, असान्दर्भिक पुराना कानुनलाई खारेज गर्ने उल्लेख गरेको थियो। सोही बमोजिम नै त्यस्ता ऐनहरूको खारेज तथा अनावश्यक दफा संशोधन गर्न खोजिएको हो।”

गौतमले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ मार्फत पुराना झण्डै आधा दर्जन ऐनलाई संशोधन तथा परिमार्जन गर्न लागेको बताइन्। 

प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०लाई खारेज गर्ने भनिएको स्मरण गराइन्। 

गौतमले ती ऐन खारेजसँगै प्रस्तावित विधेयकबाट मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ गरी तीन वटा ऐन संशोधन गर्न प्रस्ताव गरिएको पनि बताइन्। 

“नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अप्ठ्यारा कहाँ छ भन्ने कुरा फुकाउँदै जाने क्रममा पहिचान गरिएका र खारेज गर्नुपर्ने विषयवस्तु सरकारले पहिचान गरी प्रस्ताव गरेको हो”, उनले भनिन्, “यसमा केही थप विषयवस्तु रहेछ भन्ने छलफल गर्न लागि खुल्ला छौं।”

बैठकमा सदस्यले सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभापति डा कृष्णहरि बुढाथोकीले १० मिनेट बैठक स्थगित गरेका थिए। 

मंसिर ७, २०८३ सोमबार १४:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।