प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण : मुख्य मुद्दा ओझेलमा, पूर्वाधार र आर्थिक प्याकेजमा सहमति
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा ८ बुँदे प्राविधिक समझदारीसँगै ऊर्जा, इन्धन पूर्वाधार, सीमापार कनेक्टिभिटी र आर्थिक प्याकेजसम्बन्धी महत्त्वपूर्ण घोषणा तथा शिलान्यास भएका छन्।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि सार्वजनिक भएका सहमति र घोषणाहरूले भ्रमणको दायरा संस्थागत सहकार्यभन्दा माथि उठेको देखाए पनि मूलभूत द्विपक्षीय मुद्दा सम्बोधन हुन सकेन।
नेपाल-भारत सम्बन्धका मुख्य गाँठा मानिएका सीमा विवाद (लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता), भैरहवा र पोखरा विमानस्थलका लागि पश्चिमबाट हवाई प्रवेश रुट, सन् १९५० को सन्धि पुनरावलोकन तथा इपिजी प्रतिवेदन ग्रहण, व्यापार घाटा र गैरभन्सार अवरोध जस्ता संवेदनशील तथा दीर्घकालीन एजेन्डामा कुनै ठोस प्रगति देखिएन।
पूर्वाधार र कनेक्टिभिटीमा ठोस प्रगति
भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट विभिन्न ६ वटा पूर्वाधार परियोजनाको संयुक्त शिलान्यास तथा हस्तान्तरण गरे।
सङ्खुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास भयो। ९२ अर्ब ६७ करोड रुपैयाँ अनुमानित लागत रहेको बुट ढाँचाको यो आयोजनाबाट नेपालले २१ प्रतिशत निःशुल्क विद्युत् पाउनेछ भने व्यावसायिक उत्पादनको २५ वर्षपछि नेपाललाई हस्तान्तरण हुनेछ।
अर्को मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ। साथै, करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ अनुमानित लागतमा पाँच वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनलको शिलान्यास भयो।
दार्चुलाको महाकाली नगरपालिका-८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुलाको छारछुम जोड्ने ११० मिटर लामो मोटरेबल पुल उद्घाटन भयो। भारत सरकारको ३२ करोड ९८ लाख भारु लागतमा निर्मित यो पुलसँगै दुवैतर्फ भन्सार तथा सुरक्षा कार्यालय सञ्चालनको तयारी छ। यस्तै, बनवासा सुक्खा बन्दरगाहको पनि शिलान्यास गरिएको छ।
रामायण सर्किट प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाम र अयोध्या क्यान्ट जोड्ने करिब ६०४ किलोमिटर लामो साप्ताहिक सरयु-कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गरियो। शनिबार जनकपुरबाट छुट्ने र सोमबार अयोध्याबाट फर्किने यो रेलले धार्मिक पर्यटनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
तेस्रो मुलुक व्यापारका लागि नयाँ बन्दरगाह
तेस्रो मुलुकसँगको आयात–निर्यात सहज बनाउन भारतले नेपाललाई उडिसाको **पारादीप** र गुजरातको कान्डला बन्दरगाह प्रयोगको अनुमति दियो। हाल नेपालले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ।
यद्यपि, नेपालले निजी क्षेत्र (अडानी समूह) द्वारा सञ्चालित उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोगको अनुमति मागेको थियो। भारतले ती बन्दरगाहको सट्टा सोही राज्यमा भारत सरकारद्वारा सञ्चालित पारादीप र कान्डलाको पहुँच दियो।
२ खर्ब ४० अर्बको प्याकेज
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ (१ खर्ब ५० अर्ब भारु) बराबरको आर्थिक सहयोग घोषणा गरे। नेपालले १ खर्ब भारु ऋण र १ खर्ब भारु अनुदान (रसुवा बाढीपछिको पुनर्निर्माण र बुटवल-पोखरा एक्सप्रेस वेका लागि) प्रस्ताव गरे पनि भारतले अनुदानको हिस्सा घटाएर घोषणा गरेको हो।
भारतीय लाइन अफ क्रेडिटअन्तर्गत बन्ने आयोजनामा ७५ प्रतिशत भारतीय सामग्री नै प्रयोग गर्नुपर्ने बाध्यकारी सर्तका कारण विगतमा घोषित ऋण खर्च हुन नसकेर नेपालले दुई वर्षअघि (२०८१ मा) ९० करोड डलरको एलओसी रद्द गर्नुपरेको थियो।
प्राविधिक सहकार्यका ८ बुँदा
भ्रमणका क्रममा फरेन्सिक विज्ञान अनुसन्धान (गुजरातको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको सीआईबीबीच), प्रहरी प्रशिक्षण (राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपाल प्रहरी एकेडेमीबीच) तथा प्रशासनिक तालिम (भारतको सुशासन केन्द्र र नेपालको स्टाफ कलेजबीच) सम्बन्धी समझदारी भए।
यस्तै, इसरो र सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइट सञ्चार नेटवर्क निर्माण, आयुर्वेद तथा परम्परागत चिकित्सा, दिगो सहरी विकास, स्वास्थ्य सेवा र पशुपालन तथा मत्स्यपालनमा सहकार्य गर्ने सहमति भएको छ।
मुख्य मुद्दा ओझेलमा
संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रधानमन्त्री शाहलाई स्पष्ट भिजन र प्रतिबद्धता भएको नेता भन्दै प्रशंसा गरे भने शाहले नेपाल-भारत सम्बन्धलाई हिमालझैँ अग्लो विश्वास र नदीझैँ अविरल सहकार्यका रूपमा अघि बढाउने बताउँदै मोदीलाई नेपाल भ्रमणको निम्तो दिए।
ऊर्जा, पेट्रोलियम पाइपलाइन, बन्दरगाह र सीमा पुलजस्ता पूर्वाधार परियोजनाले भ्रमणलाई व्यावसायिक र विकास साझेदारीको लयमा लगेको देखिए पनि मुख्य विवादमा भने प्रवेश भएन।
नेपाल-भारत सम्बन्धका मुख्य गाँठा मानिएका सीमा विवाद (लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता), भैरहवा र पोखरा विमानस्थलका लागि पश्चिमबाट हवाई प्रवेश रुट (एयर इन्ट्री रुट), सन् १९५० को सन्धि पुनरावलोकन तथा इपिजी प्रतिवेदन ग्रहण, व्यापार घाटा र गैरभन्सार अवरोध जस्ता संवेदनशील तथा दीर्घकालीन एजेन्डामा कुनै ठोस प्रगति देखिएन।
मंसिर ७, २०८३ सोमबार १५:१५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।