गर्भवतीको मृत्युलाई लिएर बरहथवा नगर अस्पतालमा तनाव, तोडफोड र आगजनीको आरोपमा चार जना पक्राउ

गर्भवतीको मृत्युलाई लिएर बरहथवा नगर अस्पतालमा तनाव, तोडफोड र आगजनीको आरोपमा चार जना पक्राउ

सर्लाही : सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड र पेट्रोल छर्केर आगजनी गरेका छन्। चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै गएराति आगजनी गरिएको हो। 

बरहथवा नगरपालिका-५ हातिडण्डा पानिटंकी टोलकी नौ महिनाकी गर्भवती २१ वर्षीया सीमा रामदेवी तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। थप उपचारका लागि उनलाई राति पौने ११ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्याइएकोमा चिकित्सकले राति १०:५३ बजे मृत घोषणा गरेका थिए।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएर शव गृहमा राखिएको प्रहरीले जनाएको छ। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले अस्पतालभित्रै विरोध जनाउँदै इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।

प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका-५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका-९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन्।

त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोपमा अस्पतालमै करारमा कार्यरत बरहथवा-५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको छ।

अस्पतालमा तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घटनापछि अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -नेपाल न्युज बैंक

मंसिर ७, २०८३ सोमबार १४:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।