प्रधानमन्त्री बालेनलाई भारतको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’
काठमाडौं : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सोमबार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारत सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ दिइएको छ।
भारतीय समयअनुसार बिहान सवा १० बजे आयोजित विशेष समारोहमा भारतीय सेनाको टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी शाहको स्वागत गरेका थिए। राजकीय भ्रमणमा विशिष्ट अतिथिको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ।

आइतबार काठमाडौंबाट प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक बिदाइ समारोह र नेपाली सेनाको गार्ड अफ अनर नलिएका प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा भने राजकीय आतिथ्यअनुसार गार्ड अफ अनर ग्रहण गरेका हुन्।
‘गार्ड अफ अनर’ समारोहपछि प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी पुष्पहार अर्पण गर्ने कार्यक्रम छ।

त्यसपछि भारतीय समयअनुसार बिहान ११ बजे हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच ‘वान-टु-वान’ र प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ।

वार्तापछि मध्याह्नतिर दुवै देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान तथा संयुक्त पत्रकार सम्मेलन हुने कार्यतालिका छ। भ्रमणका क्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी, हवाई मार्ग र बाढीपछिको पुनर्निर्माणलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

आजै भारतीय प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। दिउँसो ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गरी प्रधानमन्त्री शाह साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।
मंसिर ७, २०८३ सोमबार १०:३७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।