महात्मा गान्धीप्रति प्रधानमन्त्री शाहको श्रद्धाञ्जलि, राजघाटको पुस्तिकामा के लेखे?

महात्मा गान्धीप्रति प्रधानमन्त्री शाहको श्रद्धाञ्जलि, राजघाटको पुस्तिकामा के लेखे?

काठमाडौं : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबार बिहान नयाँ दिल्लीस्थित राजघाटमा पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्।

राष्ट्रपति भवनमा भारत सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ ग्रहण गरेलगत्तै राजघाट पुगेका प्रधानमन्त्री शाहले गान्धीप्रति श्रद्धासुमन व्यक्त गर्दै त्यहाँस्थित आगन्तुक पुस्तिकामा सन्देश लेखेका छन्।

आगन्तुक पुस्तिकामा अंग्रेजी भाषामा हस्तलिखित सन्देशमार्फत प्रधानमन्त्री शाहले भगवान् बुद्धको जन्मभूमि नेपाल र महात्मा गान्धीको विरासतबीचको मानवीय तथा आध्यात्मिक आदर्शलाई स्मरण गरेका छन्।

साथै, उनले नेपाल र भारतबीचको सम्बन्ध भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले पुस्तिकामा लेखेको सन्देशको नेपाली भावानुवाद यस्तो छ :
यस पवित्र स्थलमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछु, जसको जीवनले सत्यमा कुनै पनि शक्तिले बराबरी गर्न नसक्ने सामर्थ्य हुन्छ भन्ने कुरा विश्वलाई प्रमाणित गरिदियो।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट म गहिरो श्रद्धासुमन अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आउँदै गर्दा मैले गान्धीजीको विरासतमा त्यही अमर ज्योति देखेको छु- करुणा नै परम शक्ति हो र सच्चा नेतृत्व हामीमध्येका सबैभन्दा निमुखा व्यक्तिको निःस्वार्थ सेवामा निहित हुन्छ भन्ने गहन सत्य।

नेपाल र भारत साझा भूगोलले मात्र होइन, आस्था, आत्मीयता र चिरस्थायी मित्रताको अनन्त विरासतले जोडिएका छन्। गान्धीजीको कालजयी भावनाको सम्मान गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो स्थायी सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दछु।

गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून्।

राजघाटको श्रद्धाञ्जलि कार्यक्रमपछि प्रधानमन्त्री शाह भारतीय समयअनुसार बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान-टु-वान’ र प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा सहभागी हुँदैछन्।

वार्तापछि दुवै देशबीच विभिन्न समझदारी र आयोजना उद्घाटनसम्बन्धी कार्यक्रम रहनेछ।

मंसिर ७, २०८३ सोमबार ११:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।