इरान युद्धका कारण अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा
एजेन्सी : इरान युद्ध र अमेरिकी रक्षा विभाग पेन्टागनका लागि ३५० अर्ब डलर अतिरिक्त बजेट माग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई लिएर अमेरिकी संसद्मा मतभेद बढेको छ। यसले क्रिसमसअघि नै अमेरिकी संघीय सरकारको कामकाज ठप्प हुने आशंका बढेको बीबीसी पर्सियनले जनाएको छ।
यही मतभेदका कारण सरकारी बजेटमा सहमति जुट्न कठिन हुन सक्ने चेतावनी दुवै प्रमुख दलका सांसदहरूले दिएको रिपोर्टमा उल्लेख छ। अमेरिकी सरकारको हालको बजेट डिसेम्बर ११ सम्म वैध रहेकाले संघीय सरकारी विभागहरूको कामकाजका लागि आगामी बजेटमा सहमति जुटाउन सांसदहरूसँग करिब तीन हप्ताको समय छ।
दलहरूबीचको मतभेद विशेषगरी अमेरिकी सिनेटमा गम्भीर देखिएको छ। सिनेटमा दुवै दलको सहमतिबाट तयार पारिएको बजेट प्याकेज अनुमोदन गर्न १०० मध्ये कम्तीमा ६० मत आवश्यक पर्छ। 'थ्याङ्क्सगिभिङ'को एक हप्ते बिदाका लागि अमेरिकी संसद्को कामकाज रोक्ने तयारी भइरहेकै बेला सांसदहरूबीच यो विवाद लम्बिने देखिन्छ।
"सबैभन्दा ठूलो समस्या के हो भने हामी युद्धका लागि फन्डिङ गर्न चाहँदैनौं र सरकारको कामकाज पनि ठप्प पार्न चाहँदैनौं। यस्तो अवस्थामा यसको समाधान कसरी निकाल्ने?" समाचार संस्था रोयटर्सका अनुसार भर्मोन्टबाट डेमोक्रेटिक पार्टीका सिनेटर पिटर वेल्चले हालै भनेका छन्, "यही नै त्यो जेलिएको गाँठो हो, जसलाई फुकाउन कठिन छ।"
मंसिर ६, २०८३ आइतबार ०९:२६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।