जनकपुरधाम-अयोध्या सिधा रेल सेवा आज शुभारम्भ हुँदै
जनकपुरधाम : भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आज जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने साप्ताहिक रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गर्दैछन्।
उत्तर रेल्वे, लखनउ मण्डल कार्यालयका अनुसार अयोध्या रेल्वे स्टेसनमा आयोजना हुने विशेष कार्यक्रममार्फत आज दिउँसो ‘नयाँ वन्दे भारत एक्सप्रेस’ लाई हरियो झन्डा देखाएर सेवा सुरु गरिनेछ।
भारतीय प्रेस इन्फर्मेसन ब्युरो (पिआइबी) को स्वीकृतिअनुसार सञ्चालन हुन लागेको करिब ६०४ किलोमिटर लामो यो रेल सेवा सुरुवाती चरणमा सातामा एकपटक चल्नेछ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ।
त्यस्तै, रेल नम्बर १५५९६ सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ।
विहार र उत्तर प्रदेशका प्रमुख सहर हुँदै चल्ने यस रेलको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछ।
हाल जयनगर-जनकपुरधाम-बिजलपुरा खण्डमा चलिरहेको रेल सञ्जाललाई आधार बनाएर यो विशेष सेवा सञ्चालन गर्न लागिएको हो।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्या सिधा रेलमार्गबाट जोडिने भएपछि स्थानीय राजनीतिक दल र सरोकारवालाले उत्साह व्यक्त गरेका छन्।
रास्वपा, नेपाली कांग्रेस, जसपा र नेकपाका धनुषास्थित नेता तथा व्यवसायीहरूले पर्यटकमैत्री पूर्वाधार र आवश्यक समन्वयमा जोड दिँदै यस रेल सेवाले धार्मिक पर्यटन, मधेसको आर्थिक गतिविधि र नेपाल-भारत जनस्तरको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
मंसिर ७, २०८३ सोमबार ०९:४६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।