प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज दिल्लीमा भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज दिल्लीमा भेटवार्ता हुँदै

काठमाडौं : भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ।

परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ।

त्यसअघि आज बिहान प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी पुष्पहार अर्पण गर्नेछन्।

भेटवार्तापछि दुई देशबीच महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ। आजै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा केही आयोजनाको उद्घाटन गर्ने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च पदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्।

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ।

मंसिर ७, २०८३ सोमबार ०८:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।