ह्याकरले एफबीआईको अति संवेदनशील अपराध डेटाबेस ह्याक गरे, संवेदनशील सूचना चोरी भएको आशंका

ह्याकरले एफबीआईको अति संवेदनशील अपराध डेटाबेस ह्याक गरे, संवेदनशील सूचना चोरी भएको आशंका

एजेन्सी : अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को अति संवेदनशील 'नेशनल क्राइम इन्फरमेसन सेन्टर' को डेटाबेसमा ह्याकरहरूले अनधिकृत पहुँच बनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फक्स न्युजले ह्याकको पुष्टि गरेको हो।

हाल एफबीआईले ह्याकरहरू प्रणालीभित्र कसरी प्रवेश गरे भन्ने पत्ता लगाउन अनुसन्धान तीव्र पारेको समाचारमा उल्लेख छ। यद्यपि, डेटाबेसबाट कुन-कुन गोप्य जानकारीहरू चोरी भए भन्नेबारे अहिलेसम्म स्पष्ट भइसकेको छैन।

यो डेटाबेस अमेरिकाका संघीय, राज्य तथा स्थानीय सुरक्षा निकायहरूका लागि सूचना आदानप्रदान गर्ने अत्यन्त महत्त्वपूर्ण माध्यम हो। यसको प्रयोग मुख्यतया फरार अपराधीहरूको खोजी गर्न, दर्ता भएका यौन अपराधीहरूको निगरानी राख्न र कसैको हतियार खरिदसम्बन्धी पृष्ठभूमि जाँच असफल भएको छ कि छैन भनेर हेर्ने लगायतका सुरक्षा प्रयोजनका लागि प्रयोग गरिन्छ।

फक्स न्युजकी केली म्याकएनानीसँगको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणबारे भर्खरै जानकारी पाएको बताएका थिए। उक्त ह्याकिङ प्रकरणबारे प्रतिक्रिया माग्दा एफबीआईले तत्काल कुनै जवाफ दिएको छैन।

एफबीआई साइबर आक्रमणको निसानामा परेको यो पहिलो पटक भने होइन। यसअघि गत सेप्टेम्बरमा 'शाइनीहन्टर्स' नामक एक ह्याकिङ समूहले रोजगारीसम्बन्धी गोप्य अभिलेखहरू चोर्ने उद्देश्यले एफबीआईको जब पोर्टल वेबसाइट ह्याक गरेको थियो।

फिरौती असुलीका लागि कुख्यात उक्त समूहले लगभग हरेक एफबीआई एजेन्टका नाम, घरको ठेगाना, सामाजिक सुरक्षा नम्बर, कार्यक्षेत्र र कतिपयको परिवारका सदस्यहरूको विवरणसमेत हात पारेको दाबी गरेको थियो।

सोही प्रकरणको अनुसन्धानका क्रममा एफबीआईले अक्टोबर ८ मा क्यानडाली साइबर सुरक्षा कार्यकारी एडवर्ड डुब्रोभ्स्कीलाई पक्राउ गरेको थियो। उनीमाथि संघीय फिरौती षड्यन्त्रको अभियोग लगाइए पनि अदालती अभिलेखहरू गोप्य राखिएकाले विस्तृत विवरण बाहिर आएको छैन।

डुब्रोभ्स्की पक्राउ परेको भोलिपल्टै अक्टोबर ९ मा एफबीआई निर्देशक काश पटेलले शाइनीहन्टर्सका एक सन्दिग्ध सह-षड्यन्त्रकारीलाई पनि नियन्त्रणमा लिइएको घोषणा गरेका थिए। त्यतिबेला पटेलले विज्ञप्ति जारी गर्दै विश्वको जुनसुकै कुनाबाट सञ्चालित भए पनि उक्त ह्याकिङ समूह र त्यसका सहयोगीहरूको अस्तित्व निस्तेज पार्न एफबीआई निरन्तर लागिपरेको बताएका थिए।

यसअघि सन् २०२३ मा पनि ह्याकरहरूले बाल यौन शोषणसम्बन्धी मुद्दाहरूको अनुसन्धानमा प्रयोग हुने एफबीआईको न्युयोर्क फिल्ड अफिसको कम्प्युटर सञ्जालमा घुसपैठ गरेका थिए। सीएनएनका अनुसार उक्त प्रणालीमा चर्चित 'जेफ्री एपस्टिन' प्रकरणसँग जोडिएका संवेदनशील तस्बिरहरूसमेत भण्डारण गरिएका थिए।

मंसिर ५, २०८३ शनिबार २२:२०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।