एआई हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय नियममा सहमति जुटेन
एजेन्सी : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोनजस्ता स्वचालित हतियार प्रणालीको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने उद्देश्यले जेनेभामा आयोजित राष्ट्रसंघ समर्थित एक साताव्यापी सम्मेलन शनिबार ठोस सहमतिविना टुङ्गिएको छ।
हतियारको प्रयोग नियन्त्रण गर्न बाध्यकारी नियम बनाउने विषयमा सहमति जुट्न नसकेपछि सहभागी देशहरूले घातक स्वचालित हतियार प्रणालीसम्बन्धी सम्भावित सम्झौताबारे सन् २०२८ सम्म थप छलफल गर्ने निर्णय गर्दै वार्ता अन्त्य गरेका हुन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देश तथा अधिकारकर्मीहरूले यस वर्षभित्रै त्यस्ता हतियार नियन्त्रणसम्बन्धी बाध्यकारी सम्झौताका लागि वार्ता सुरु गर्नुपर्ने माग गर्दै आएका थिए।
निरस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले वार्ताको परिणामलाई महत्त्वपूर्ण उपलब्धि भने पनि अपेक्षाअनुसार कानुनी सम्झौता हुन नसकेको स्वीकार गरे।
यसैबीच, ‘स्टप किलर रोबोट्स’ अभियानले सहमतिलाई कमजोर र अपेक्षाभन्दा कम प्रभावकारी भन्दै आलोचना गरेको छ। अन्तर्राष्ट्रिय कानुनसम्बन्धी संस्था लेक्स इन्टरनेसनलकी संस्थापक बिट्रिस फिनले यस निर्णयले समस्याको समाधान थप दुई वर्ष पछाडि धकेलेको बताइन्।
ब्राजिलसहित अस्ट्रिया, बेल्जियम, आयरल्यान्ड, मेक्सिको, न्युजिल्यान्ड र पानामाले स्वचालित घातक हतियारको प्रयोग नियन्त्रण गर्ने नियम बनाउन वार्ता सुरु गर्न प्रस्ताव गरेका थिए। तर, उक्त प्रस्ताव सफल हुन सकेन। रुस र अमेरिकालगायत प्रमुख सैन्य शक्तिहरूले कडा नियन्त्रणको प्रस्तावमा अवरोध गरेको अधिकारकर्मीहरूको आरोप छ।
मंसिर ५, २०८३ शनिबार २०:३९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।