प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशको सम्बन्ध मजबुत बनाउन ‘कोसेढुङ्गा’ बन्ने रास्वपाको विश्वास
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमण नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन ‘कोसेढुङ्गा’ बन्ने विश्वास व्यक्त गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आइतबार जारी गरेको शुभकामना सन्देशमा शाहको भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदार अभिवृद्धि गर्न योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको छ।
नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा सम्बन्ध विस्तारमा जोड दिँदै रास्वपाले उनको भारत भ्रमण उपलब्धिपूर्ण, सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।
शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र समकक्षी नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यतालिका रहेको शुभकामना सन्देशमा उल्लेख छ। भेटवार्ताको अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल र केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको रास्वपाले जनाएको छ। भ्रमणमा निस्कनुअघि शाहले पार्टी सभापतिसँग भेट गरी भ्रमणका सन्दर्भमा जानकारी गराएका थिए।
मंसिर ६, २०८३ आइतबार १४:५०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।