पूजा शर्मा र अशोक दर्जीलाई लिएर शिवम् अधिकारीले बनाउँदै ‘सेतो कोट’

पूजा शर्मा र अशोक दर्जीलाई लिएर शिवम् अधिकारीले बनाउँदै ‘सेतो कोट’

काठमाडौं : लामो समयदेखि फिल्म लेखनमा सक्रिय रहेका शिवम् अधिकारीले पूजा शर्मा र अशोक दर्जीलाई लिएर फिल्म ‘सेतो कोट’ निर्माण गर्ने भएका छन्। निर्माण टिमले शुक्रबार कोटेश्वरस्थिति महादेवस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेको हो।

लेखक अधिकारीको फिल्म ‘सेतो कोट’ चौथो फिल्म हो। यसअघि उनले फिल्म ‘सुश्री’, ‘पञ्चायत’, ‘कोपिला’ निर्देशन गरेका थिए। तीनै फिल्मले व्यापारिक हिसाबमा कमजोर गनिएका थिए भने ‘पञ्चायत’को प्रशंसा भएको थियो।

उनले उकेरासँग भने, "मलाई कथा चित्त बुझ्यो र निर्माताले मलाई काम गर्न स्वतन्त्र छोडिदिनुभयो भने निर्देशन गर्न रुचि राख्छु। मैले असिस्टेन निर्देशन गर्दै निर्देशनमा हात हालेको हो।" फिल्म लेख्दा लेख्दै आफूले समय अभावको कारण धेरै फिल्म निर्देशन गर्न नपाएको उनले सुनाए।

फिल्मको शुभ मुहूर्तमा मुख्य भूमिकामा रहेने अभिनेत्री पूजा शर्मा र बाल गायकबाट चर्चा कमाएका अशोक दर्जी सेतै कोटमा उपस्थित भएका थिए। कार्यक्रममा उनीहरुलाई फिल्मको नाम र कथाको मर्मअनुसार नै प्रस्तुति गरिएको थियो। 

मिनु शर्मा प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘सेतो कोट’मा नीर शाह, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सुमित्रा दाहाल, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको पनि अभिनय रहने छ। 

फिल्मको कथाले मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको निर्माण टिमको भनाई छ। फिल्ममा निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्।

काठमाडौं, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा छायांकन हुने फिल्मलाई सौरभ लामाले खिच्नेछन्। बन्दे प्रसादको सम्पादन, मुख्य सहायक निर्देशक नवराज शर्मा, बजार व्यवस्थापन भावेश ढकाल, प्रचार सामग्री सञ्जीव खड्की, कला निर्देशन डुक्राज, सह-निर्देशन दीप्त प्रकाश अधिकारी र एलियास मलिकको रहनेछ। यसै साताबाट छायांकनमा जाने यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। 

मंसिर ४, २०८३ शुक्रबार १६:०९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।