पूर्वएआईजी नै आधा दिन झुक्किने ‘ककाकिकी’को प्र्याङ्कमा प्रहरीकै साँठगाँठ !
काठमाडौं : फिल्म ‘ककाकिकी’को प्रचारप्रसारका लागि ट्रेलर सार्वजनिक कार्यक्रममा मञ्चन गरिएको ‘नक्कली पक्राउ’ को प्र्याङ्क नाटकले यतिबेला निर्माण पक्षसँगै नेपाल प्रहरीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
नक्कली प्रहरी र नेपाल प्रहरीको सक्कली भ्यान प्रयोग गरेर गरिएको उक्त स्टन्टमा सस्तो चर्चा बटुल्न खोज्ने फिल्म टिम मात्र होइन, आफ्नै नीति, विधि र प्रवक्ताको दाबीविपरीत सरकारी स्रोतसाधन दुरुपयोग हुन दिने प्रहरी प्रशासनसमेत विवादमा तानिएको छ।
गत शनिबार काठमाडौंको न्यूरोडमा रहेको रञ्जना हलमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रम चलिरहँदा ‘प्रहरी’को पोसाकमा एक समूह अचानक स्टेजमा उक्लियो।
उक्त समूहले वरिष्ठ अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल, शिशिर वाङ्देल र निर्देशक विक्की अग्रवाललाई घिसार्दै बाहिर निकाल्यो र ‘प्रहरी वृत्त जनसेवा काठमाडौं’ लेखिएको सक्कली भ्यानमा हालेर हुइँक्यायो।
कार्यक्रमस्थलमा उपस्थित दर्शक र सञ्चारकर्मीलाई त्यो प्रचारात्मक नाटक (प्र्याङ्क) हो भन्ने पूर्वजानकारी नदिइँदा तत्कालै अन्योल र त्रासको वातावरण बन्यो।
भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएपछि कलाकारहरू कुनै अपराधमा पक्राउ परेको भन्दै अड्कलबाजी सुरु भयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले समेत सामाजिक सञ्जालमार्फत सरकारसँग जवाफ मागे।
तर, फिल्मको हाइप बटुल्न खोजेको निर्माण पक्षले दिनभर मौनता साँधेर ‘सरकारी धरपकड’को हल्ला फैलिन दियो।
चौतर्फी आलोचना भएपछि मात्र साँझपख निर्माण कम्पनी ‘माया इन्टरटेनमेन्ट स्टुडियो’ का तर्फबाट निर्देशक विक्की अग्रवालले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको हस्तलिखित स्पष्टीकरण पत्र बाहिरियो। उक्त पत्र परिसरकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरियो।
पत्रमा निर्माण पक्षले प्रहरीसँग समन्वय र अनुमति लिएरै कथावस्तुअनुसार उक्त दृश्य तयार पारेको दाबी गर्दै उल्टै सञ्चारमाध्यम र सामाजिक सञ्जालले भ्रम फैलाएको आशय व्यक्त गरेको छ।
तर, निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले दुई दिनअघि मिडियाकर्मीसँगको भेटमा ‘प्रहरी’ बनेका व्यक्ति नक्कली भए पनि भ्यान चाहिँ सक्कली नै भएको स्वीकारेका छन्।
अग्रवालले “मुभी भनेकै नाटक हो, नराम्रो नियत थिएन” भन्दै माफी मागेका छन् भने प्रसाईँले “हाम्रो फिल्ममा एक जना दाइ पुलिस हुनुहुन्छ, उहाँ रियल पुलिस होइन नि त?” भन्दै प्रहरी प्रशासनले कलाकारितालाई सघाएको दाबी गरेकी छन्।
दुई महिनाअघि बिग मुभिजमा बन्दुक बोकाएर कलाकार छिराउँदा पात्रको सन्दर्भ जोडिए पनि यस पटक सामान्य पहिरनमा रहेका वरिष्ठ कलाकारलाई पक्राउ गरिएको नाटकले प्रेस कार्यक्रमको मर्यादा र कलाकारको प्रतिष्ठामाथि नै प्रश्न उठाएको छ।
प्रहरीकै दुई प्रवक्ताको बाझिएको बयान- सुटिङलाई अनुमति कि प्र्याङ्कलाई?
फिल्म प्रचारमा राज्यको सुरक्षा संयन्त्रको सवारी साधन कसरी प्रयोग भयो भन्ने विषयमा प्रहरीका दुई आधिकारिक प्रवक्ताका भनाइ एकआपसमा बाझिएका मात्र छैनन्, प्रहरीको कार्यशैलीमाथिको विरोधाभाससमेत छताछुल्ल भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले उकेरासँगको कुराकानीमा उक्त कार्यक्रमका लागि प्रहरी प्रधान कार्यालयकै पूर्वअनुमति लिएर भ्यान उपलब्ध गराइएको दाबी गरे।
“उक्त दिन कलाकारलाई नेपाल प्रहरीले पक्राउ गरेको होइन, निर्माण टिमले अनुमति मागेकाले कथावस्तुअनुसार भ्यान उपलब्ध गराइएको हो”, उनले भने।
तर, कथावस्तुको सुटिङमा नभई प्रचारको प्र्याङ्कमा भ्यान प्रयोग भएको विषयमा सोध्दा थापा पन्छिए। उनले भने, “त्यसमा हाम्रो केही भनाइ रहेन, त्यो उहाँहरूकै विषय रह्यो।”
तर, नेपाल प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेको भनाइले काठमाडौं प्रहरीको उक्त बचाउमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।
उकेरासँगको कुराकानीमा प्रवक्ता काफ्लेले फिल्मको प्रचारप्रसारका लागि प्रहरीको पोसाक र सवारी साधन दिँदै नदिइने स्पष्ट पारे।
प्रचारप्रसारमा भ्यान र पोसाक प्रयोग भएकोबारे जिज्ञासा राख्दा काफ्लेले ठाडै अस्वीकार गर्दै भने, “हामी त्यस्तो दिँदै दिँदैनौँ नि! हामीले प्रचारप्रसारमा दिएको होइन।”
उनका अनुसार साम्प्रदायिक सद्भाव, धार्मिक संवेदनशीलता र शान्तिसुरक्षामा खलल नपुग्ने गरी निश्चित सर्त र विधि-प्रक्रिया पूरा गरेर फिल्म छायाङ्कनका लागि मात्र सवारी साधन वा पोसाक प्रयोग गर्न दिइन्छ।
तर, तोकिएको सर्तभन्दा बाहिर गएर प्रयोग गरिए कानुनबमोजिम दण्डनीय हुने उनको चेतावनी छ।
“सर्तको आधारमा मात्रै निश्चित समयका लागि विधि-प्रक्रिया पूरा गरेर दिएको अवस्था हुन्छ,” काफ्लेले भने, “तर त्योभन्दा बाहिर उहाँहरूले कुनै क्रियाकलाप गर्नुभएको पाइन्छ, भेटिन्छ भने त्यो चाहिँ कानुनबमोजिम दण्डनीय हुन्छ।”
‘कार्यविधि’को दाबी, तर न नियम भेटियो न कारबाही नै
प्रवक्ता काफ्लेले सवारी साधन र पोसाक उपलब्ध गराउन प्रहरीसँग ‘कार्यविधि’ रहेको दाबी गरे पनि पत्रकारले उक्त कानुनी व्यवस्था हेर्न खोज्दा उनले स्पष्ट पार्न सकेनन्। बरु “त्यो के रहेछ बुझ्नुपर्ने हुन्छ, समन्वय गरेर हेर्न सकिन्छ” भन्दै टारे।
यथार्थमा चलचित्र छायाङ्कनका लागि नेपाल प्रहरीले आफ्नै सवारी साधन उपलब्ध गराउने विषयमा सार्वजनिक रूपमा प्रकाशित छुट्टै ‘कार्यविधि’ छैन।
चलचित्र विकास बोर्डको नियम र प्रहरी प्रधान कार्यालयको पूर्वस्वीकृति प्रक्रिया केवल स्वीकृत स्क्रिप्टको छायाङ्कनमा मात्र सीमित हुन्छ, व्यावसायिक प्रचारप्रसार वा प्र्याङ्कका लागि होइन।
मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ ले समेत अधिकार नपाएको व्यक्तिले राष्ट्रसेवकको पोसाक वा सवारी साधन प्रयोग गरी सर्वसाधारणलाई झुक्याउने कार्यलाई कसूर मानेको छ।
प्रहरी प्रधान कार्यालयले नै २०७७ असोज र २०८० भदौमा सूचना जारी गरी अनुमतिविना वा मनोरञ्जन/सामाजिक सञ्जालको सामग्रीका नाममा प्रहरीको पहिचान दुरुपयोग नगर्न चेतावनी दिँदै आएको छ।
तर, ‘ककाकिकी’ प्रकरणमा एकातिर केन्द्रीय प्रवक्ता ‘प्रचारमा दिँदैनौँ र दुरुपयोग दण्डनीय हुन्छ’ भन्छन्, अर्कोतिर काठमाडौं प्रहरीले हेडक्वार्टरको पत्रकै आधारमा फिल्मको प्रचार कार्यक्रममा जनसेवा वृत्तको भ्यान खटाएको दाबी गर्छन्।
सर्वसाधारणमा भ्रम छरिँदा पनि कानुनी कारबाही गर्नुको साटो निर्माण पक्षको स्पष्टीकरण पत्र नै आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेर उन्मुक्ति दिएको देखिन्छ।
पूर्वएआईजी हेमन्त मल्ल भन्छन्- ‘आधा दिन त मै कन्फ्युज भएँ, यस्ता गतिविधि नियन्त्रण गर्नैपर्छ’
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हेमन्त मल्ल पनि ‘ककाकिकी’ प्रकरणमा प्रहरीको असावधानी र कमजोरी देखिएको स्वीकार्छन्।
उकेरासँग कुरा गर्दै उनले फिल्मको स्क्रिप्ट हेरेर अनुमति दिनुको मूल उद्देश्य नै प्रहरीको पोसाक र गाडीको दुरुपयोग नहोस् तथा प्रहरीको छवि नकारात्मक नबनोस् भन्ने रहेको स्पष्ट पारे।
विगतमा प्रहरीका जनचेतनामूलक अभियानमा कलाकारहरूले सघाउने गरेकाले कतै त्यही आपसी सद्भावका आधारमा सहयोग गरिएको हुनसक्ने अनुमान गर्दै मल्लले तर त्यसमा गम्भीर त्रुटि भएको औँल्याए।
“दिँदाखेरि पनि विचार त गर्नुपर्ने हो नि त! करिब आधा दिन त सबै कन्फ्युज भए नि! फिल्मको प्रिमियरबाटै प्रहरीले मान्छे समात्यो भन्ने किसिमको नेगेटिभ न्युज बाहिर आयो”, उनले भने।
उक्त घटनाको भिडियो देख्दा आफू स्वयं आधा दिन अलमलमा परेको मल्लले सुनाए।
“आधा दिन त मै कन्फ्युज भएँ हेर्दाखेरि पनि। के हो, पुलिसले त्यत्तिकै समात्न पाइन्छ? अहिले बिचबिचमा ठाउँठाउँमा मान्छे उठाइरहेका बेला त्यो पनि त्यस्तै हो कि भन्ने कन्फ्युजन भयो”, उनले थपे।
प्रहरीका कामकारबाहीप्रति आमनागरिकमा विभिन्न शङ्का-उपशङ्का भइरहेका बेला यस्ता प्र्याङ्क र अमर्यादित स्टन्टले जनविश्वास झन् कमजोर पार्ने मल्लको निष्कर्ष छ।
“कलाकारहरूसँग सहयोग आदानप्रदान आफ्नो ठाउँमा होला, तर प्रहरीकै कामकारबाही र सरकारप्रति नकारात्मक सन्देश जाने कुरामा सचेत हुनैपर्छ। यस्ता कुरा नियन्त्रण गर्नैपर्छ”, उनले जोड दिए।
मंसिर ३, २०८३ बिहीबार १४:००:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।