पहिलो राजकीय भ्रमणमा आज नयाँ दिल्ली जाँदै प्रधानमन्त्री शाह, यस्तो छ भ्रमण तालिका

पहिलो राजकीय भ्रमणमा आज नयाँ दिल्ली जाँदै प्रधानमन्त्री शाह, यस्तो छ भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार दिउँसो नयाँ दिल्ली जाँदैछन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका उनले उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै ऊर्जा, सम्पर्क सञ्जाल र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल तथा विभिन्न समझदारी गर्नेछन्।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आइतबार नै शिष्टाचार भेट गर्नेछन्। भोलि सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। सोही दिन उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धासुमन अर्पण गर्नेछन् भने भ्रमणकै क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारी पत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन्। त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ। भ्रमणका क्रममा नेपाल-भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ। त्यस कार्यक्रमबाट नेपाली र भारतीय व्यवसायीबीच सहकार्य गर्ने सेतु पनि बन्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारलगायत रहनेछन्। शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ।

मंसिर ६, २०८३ आइतबार ०७:१३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।