मिशाराको ‘जुवा’ बिफल हुँदा सुदूरपश्चिमको ह्याट्रिक फाइनल, बदलिएला त फाइनलको इतिहास?

मिशाराको ‘जुवा’ बिफल हुँदा सुदूरपश्चिमको ह्याट्रिक फाइनल, बदलिएला त फाइनलको इतिहास?

काठमाडौं : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति खेलिएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल पुग्यो।

१ सय ३४ रनको सामान्य लक्ष्य पछ्याउँदा ४५ रनमै ४ विकेट गुमाएर सङ्कटमा परेको सुदूरपश्चिम रोयल्सले खेलमा पुनरागमन गर्दै १९.५ ओभरमा ३ विकेटको रोमाञ्चक जित निकाल्यो। 

अघिल्लो दिन काठमाडौं गोर्खाजलाई ६१ रनले पन्छाएर पहिलो पटक दोस्रो क्वालिफायरमा पुगेको चितवन राइनोजको यात्रा उपाधि भिडन्तको ठीक एक कदम अगाडि टुङ्गियो।

खेलपछिको पत्रकार सम्मेलनमा दुवै टोलीको ड्रेसिङ रुमको मनोदशा र खेलका निर्णायक मोडहरू छर्लङ्गै देखिए।

ब्याटिङमा ‘मलानको एक्लो लडाइँ’ र २० रनको थकथकी
पहिलो पटक प्लेअफको दोस्रो खुड्किलोमा उक्लिएको चितवनका लागि टस जितेर ब्याटिङ रोज्नु स्वाभाविक निर्णय थियो।

तर, पावरप्लेमै कमिल मिशारा (४), देव खनाल (६) र कप्तान रवि बोपारा (१) सहित ३ विकेट ३२ रनमा गुमाएपछि चितवन सुरुवातदेखि नै दबाबमा पर्यो। १२औं ओभरमा ६२/६ को स्थितिमा पुगेको टोलीलाई अनुभवी डेभिड मलानले ५१ बलमा अविजित ७१ रनको क्लास इनिङ्स खेल्दै १३३/९ को सम्मानजनक स्कोरमा पुर्याए।

चितवन राइनोजका ब्याटर डेविड मलान।

खेलपछि चितवनका प्रशिक्षकले हारको मुख्य चुरो यहीँनेर देखे।

मलानको व्यावसायिकताको प्रशंसा गर्दै उनले भने, “पिच तुलनात्मक रूपमा ब्याटिङका लागि राम्रो थियो। मलानलाई अन्तिमसम्म अर्को एकजना नियमित ब्याटरले साथ दिएको भए स्कोर १५० देखि १६० सम्म पुग्न सक्थ्यो। १३३ रन जोगाउन त हामीले यति कडा लडाइँ लड्यौँ भने १५० प्लसको लक्ष्य हुँदा नतिजा अर्कै हुन सक्थ्यो।”

रत्नायकेको ११-१२औँ ओभरको मोड
सामान्य लक्ष्य जोगाउन चितवनका बलरहरूको प्रदर्शन प्रशंसनीय रह्यो। रिजन ढकाल, कमलसिंह ऐरी र रन्जित कुमारसँगै उसामा मिरको कसिलो बलिङले ७.२ ओभरमा सुदूरपश्चिमलाई ४५/४ मा खुम्च्याएको थियो। तर, बलिङमा २ विकेट लिएका श्रीलङ्काली अलराउन्डर थारिन्दु रत्नायके ब्याटिङमा पनि चट्टान झैँ उभिए।

रत्नायकेले ४२ बलमा अविजित ५३ रन बनाउँदै दीपेन्द्रसिंह ऐरी (१५), आरिफ शेख (१०) र फाबियन एलेन (५) सँग साना तर म्याच-विनिङ साझेदारी गरे।

सुदूरपश्चिम रोयल्सका अलराउन्डर थारिन्दु रत्नायके।

चितवनका प्रशिक्षकका अनुसार १०औँ ओभरसम्म दुवै टोली बराबरीमा थिए, तर ११-१२औँ ओभरतिर ९-१० रन खर्चिनु र साँझको लाइट तथा ड्युका कारण फिल्डिङमा चुक हुनु खेलको मुख्य टर्निङ पोइन्ट बन्यो।

अन्तिम ओभरको ‘जुवा’ र सुपर ओभरको त्यो आशा
बिहीबारको खेलको सबैभन्दा चर्चित र साहसिक निर्णय १९औं ओभरपछि देखियो, जब रन्जित कुमार र सलाहुद्दिन खानको १-१ ओभर बाँकी छँदै नियमित विकेटकिपर कमिल मिशाराले ग्लोभ्स खोलेर अन्तिम ओभर बलिङको जिम्मा लिए।

धेरै दर्शकका लागि यो निर्णय अचम्मलाग्दो थियो। तर, खेलपछि चितवनका सहायक प्रशिक्षक मनिष सलाहकरले यसको पछाडिको स्पष्ट कारण खोले।

रन्जित र सलाहुद्दिन महँगो साबित भइरहेका बेला क्रिजमा बायाँ हाते ब्याटर रत्नायके रहेको र टोलीमा नियमित अफ-स्पिनरको कमी भएकाले विपक्षीलाई चकित पार्न मिशारालाई प्रयोग गरिएको उनले बताए।

चितवन राइनोजका सहायक प्रशिक्षक मनिष सलाहकर।

उनले यसलाई खुलेर ग्याम्बल अर्थात  जुवाको संज्ञा दिँदै भने, “त्यो चालले काम पनि गर्यो। तीन बल फालिसकेपछि त हामी खेल सुपर ओभरमा जान्छ कि भन्ने आशामा थियौँ।”

१९.४ ओभरमा एलेन रनआउट हुँदा खेल साँच्चै सुपर ओभरतर्फ मोडिँदै थियो, तर पाँचौं बलमा रत्नायकेले सुदूरपश्चिमलाई फाइनलको दैलो कटाए।

सुदूरपश्चिमको मानसिकता : ‘इतिहास बदलिन सक्छ’
यता, जितपछि सुदूरपश्चिमको खेमामा राहतसँगै ‘बदला’ को आत्मविश्वास झल्किएको छ।

अघिल्ला दुई सिजनमा फाइनल पुगेर पनि उपाधिबाट वञ्चित सुदूरपश्चिमले शनिबार फेरि एकपटक साविक विजेता लुम्बिनी लायन्सको सामना गर्दै छ।

लुम्बिनीसँग सुदूरपश्चिमको आँकडा हेर्ने हो भने त्यति बलियो छैन। गत सिजनको फाइनल, यस सिजनको लिग र पहिलो क्वालिफायर गरी लगातार तीन खेलमा पराजित भइसकेको छ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिमका बलर अनिल खरेलले यही इतिहासबारे सोधिएको प्रश्नमा निर्धक्क जवाफ दिए, “तीनचोटि लुम्बिनीसँग हार्यौँ भन्दैमा फेरि पनि हार्छौँ भन्ने छैन, सायद इतिहास बदलिन सक्छ।”

अनिल खरेल।

प्रतियोगिताको सुरुवाती तीनमध्ये दुई खेल हार्दा पनि ड्रेसिङ रुममा कहिल्यै शङ्का नभएको र सबैको एउटै लक्ष्य ‘फाइनल पुग्ने र जित्ने’ रहेको उनले सुनाए।

शनिबारको महाभिडन्त
चितवनका लागि तेस्रो सिजन मिश्रित रह्यो- लिग चरणका केही जित्नुपर्ने खेल गुमाए पनि इलिमिनेटरको दबदबा र दोस्रो क्वालिफायरमा १ सय ३३ रन जोगाउन अन्तिम ओभरसम्म गरेको सङ्घर्षले टोलीको क्यारेक्टर देखायो।

चितवनका प्रशिक्षकले बिहीबारको हारपछि शनिबारको फाइनलका लागि व्यक्तिगत रूपमा लुम्बिनी लायन्सलाई बलियो दाबेदारका रूपमा रुचाएको प्रतिक्रिया दिएका छन्।

तर, दबाबपूर्ण खेल जितेर लय समातेको सुदूरपश्चिम र चार दिनको विश्रामपछि ताजा भएर उत्रिने लुम्बिनीबीच शनिबार साँझ ५ बजे कीर्तिपुरमा हुने फाइनल भिडन्त पक्कै पनि रोमाञ्चक हुनेछ।

उसो त फाइनल खेलको इतिहास हेर्ने हो भने अघिल्ला दुई सिजनमा क्वालिफायर-१ जित्ने टोलीले फाइनल जितेको छैन। दुवै सिजन पहिलो क्वालिफायर जितेको सुदूर फाइनलमा पराजित भएको छ।

पहिलो सिजनमा पहिलो क्वालिफायर हारेको जनकपुरले उपाधि उचाल्दा दोस्रो सिजन इलिमिनेटर खेलेको लुम्बिनी लायन्सले उपाधि जितेको थियो।

अब शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमसँग पहिलो पटक च्याम्पियन बनेर इतिहास बदल्ने अवसर अनि लुम्बिनीसँग उपाधि रक्षा गर्ने दबाब हुने देखिन्छ।

मंसिर ४, २०८३ शुक्रबार ०८:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।