एनपीएल फाइनल : झन्डै १६ सय सुरक्षा जनशक्ति परिचालन, ड्रोन र ‘डग स्निफिङ’बाट निगरानी
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।
शुक्रबार अनलाइन टिकट बिक्रीमा देखिएको विवाद र समर्थकहरूको प्रदर्शनसमेतलाई मध्यनजर गर्दै फाइनल खेल शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न १ हजार ५ सय ८० भन्दा बढी सुरक्षा जनशक्ति परिचालन गरिएको हो।
साँझ ५ बजे सुरु हुने फाइनल खेलका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजी सुरक्षा कम्पनीका गार्डहरू खटिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार फाइनल खेल भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अन्य दिनको तुलनामा कडा र विस्तृत सुरक्षा प्रबन्ध मिलाइएको छ।
सुरुवाती समयमा ६ देखि ७ सयको हाराहारीमा प्रहरी खटिए पनि साँझ ५ बजे खेल सुरु हुने समयसम्ममा सादा पोसाक र प्राविधिक टोलीसहित १ हजारभन्दा बढी नेपाल प्रहरी परिचालन हुने उनले जानकारी दिए।
सुरक्षा जाँच र निगरानीलाई प्रभावकारी बनाउन सुरुवाती समयमै के-नाइन टोलीमार्फत ‘डग स्निफिङ’ गराइनुका साथै ड्रोन र सीसीटीभी क्यामेरामार्फत सूक्ष्म निगरानीको व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताए।
त्यसैगरी, सशस्त्र प्रहरी बल, नेपालले पनि फाइनल खेलका लागि आफ्नो जनशक्ति बढाएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार लिग चरणदेखि हालसम्मका खेलमा करिब ३०० को हाराहारीमा सशस्त्र प्रहरी परिचालन हुँदै आएकोमा आज फाइनलका लागि संख्या बढाएर ४८० पुर्याइएको छ।
आयोजक समितिको व्यवस्थाअनुसार युनिफर्म लगाएका सुरक्षाकर्मी खेलमैदानभित्र प्रवेश नगरी गेटबाहिर र परिसर क्षेत्रमा सुरक्षामा खटिएका छन्।
सरकारी सुरक्षा निकायका अलावा नेपाल क्रिकेट संघ (क्यान) ले व्यवस्था गरेको के फोर सेक्युरिटी सर्भिस प्रा.लि. का १०० भन्दा बढी निजी सुरक्षा गार्डहरूसमेत मैदान र दर्शक व्यवस्थापनमा परिचालित छन्।
प्रवक्ता थापाले हालसम्म एनपीएल अवधिभर कुनै अप्रिय घटना नघटेको उल्लेख गर्दै फाइनल खेललाई सुरक्षित र मर्यादित रूपमा सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक सन्देश प्रवाह गर्नु सबैको साझा दायित्व भएको बताए।
आज काठमाडौंमा एमालेको भोलिन्टियर वार्षिकोत्सव तथा र्यालीलगायत विभिन्न कार्यक्रमहरूसमेत रहेकाले सहरको समग्र शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनसँगै एनपीएल फाइनलका लागि विशेष सुरक्षा तयारी गरिएको प्रहरीले जनाएको छ।
मंसिर ५, २०८३ शनिबार १३:३४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।