अन्तिम ओभरमा विकेटकिपरलाई बलिङ दिएकोबारे चितवनले भन्यो- ‘त्यो जुवा थियो’
काठमाडौं : चितवन राइनोजका सहायक प्रशिक्षक मनिष सलाहकरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध अन्तिम ओभर बलिङ गर्न नियमित विकेटकिपर कमिल मिशारालाई पठाउनु ग्याबलजस्तै भएको बताएका छन्।
बिहीबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३ विकेटको हार बेहोरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै चितवनका प्रशिक्षकले नियमित बलरहरू महँगो साबित भएपछि विपक्षीलाई ‘सर्प्राइज’ दिन मिशारालाई प्रयोग गरिएको खुलासा गरेका हुन्।
“यसको कारण यति मात्रै हो- रन्जित कुमार र सलाहुद्दिन खानले रन खाइरहेका थिए। हामीले मिशारालाई अफ-स्पिन बलिङ गरेको देखेका थियौं,” उनले भने, “क्रिजमा बायाँ हाते ब्याटर (थारिन्दु रत्नायके) रहेका बेला हामीसँग नियमित अफ-स्पिनरको कमी थियो। त्यसैले विपक्षीलाई अचम्मित पार्न उनलाई अन्तिम ओभर दियौं। बरु यसलाई म एउटा ‘ग्याम्बल’ (जुवा) नै भन्छु।”
१९औँ ओभर सकिएपछि ग्लोभ्स विवेक यादवलाई सुम्पिएर बलिङमा आएका मिशाराले सुरुवाती बलमा कसिलो बलिङ गर्दै १९.४ ओभरमा फाबियन एलेनलाई रनआउटसमेत गराएका थिए। तर, पाँचौं बलमा सुदूरपश्चिमले लक्ष्य भेटायो।
प्रशिक्षकले थपे, “त्यो चालले वास्तवमा हाम्रो पक्षमा काम पनि गर्यो । तीन बल फालिसकेपछि त हामी खेल सुपर ओभरमा जान्छ कि भन्ने आशामा थियौं, तर नतिजा हाम्रो पक्षमा आउन सकेन।”
‘मलानलाई साथ मिलेको भए १५०-१६० बन्थ्यो’
चितवनले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटमा १३३ रन मात्र बनाएको थियो, जहाँ डेभिड मलानले अविजित ७१ रन जोडेका थिए। तुलनात्मक रूपमा ब्याटिङका लागि राम्रो देखिएको पिचमा पावरप्लेमै ३ विकेट गुमाउनु महँगो परेको प्रशिक्षकको विश्लेषण थियो।
मलानको इनिङ्सको प्रशंसा गर्दै उनले भने, “मलानले साँचो व्यावसायिकता र उत्कृष्ट चरित्र देखाए। अन्तिमसम्म उनलाई अर्को एक जना नियमित ब्याटरले साथ दिएको भए स्कोर १५० देखि १६० सम्म पुग्न सक्थ्यो। १३३ रन जोगाउन त हामीले अन्तिमको दोस्रो बलसम्म यति कडा लडाइँ लड्यौं भने १५० प्लसको लक्ष्य हुँदा नतिजा अर्कै हुन सक्थ्यो।”
टर्निङ पोइन्ट, बलिङ र शीतको असर
कम स्कोरको खेलमा १०औँ ओभरसम्म दुवै टोली बराबरी अवस्थामा रहे पनि ११-१२औँ ओभरतिर ९-१० रन खर्चिनु नै खेलको टर्निङ पोइन्ट बनेको उनले बताए।
यद्यपि, रिजन ढकाल, कमलसिंह ऐरी, रन्जित कुमार र उसामा मिरसहितको बलिङ युनिटले सिजनभरि नै उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले प्रशंसा गरे। साँझको खेलमा लाइट र शीत (ड्यु) का कारण क्याच छुट्ने समस्या अन्य टोलीहरूले पनि भोगेको उनको भनाइ थियो।
फाइनलमा ‘लुम्बिनी’ मन पर्ने खुलासा
शनिबार हुने लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेलबारे सोधिएको प्रश्नमा उनले मुस्कुराउँदै ‘राम्रो खेल्ने टिमले जितोस्’ भन्ने कामना गरे।
तर, व्यक्तिगत छनोट सोधिँदा उनले भने, “साँचो भन्नुपर्दा मलाई लुम्बिनी मन परेको छ, किनकि उनीहरू निकै राम्रो टिम देखिएका छन्। त्यो मेरो व्यक्तिगत रोजाइ हो, तर अन्त्यमा उत्कृष्ट टोलीले नै उपाधि जितोस्।”
मंसिर ३, २०८३ बिहीबार २३:३६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।