भारतीय कप्तान तिलक बर्माले नेपालको तारिफ गर्दै के भने?
दोहा : कतारको दोहामा बिहीबारदेखि सुरु हुने ‘एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ को पूर्वसन्ध्यामा आयोजित ‘क्याप्टेन्स डे’ तथा ट्रफी अनावरण कार्यक्रममा भारत ‘ए’ का कप्तान तिलक बर्माले नेपाली क्रिकेटको खुलेर प्रशंसा गरेका छन्।
आठवटै सहभागी टोलीका कप्तानहरूको उपस्थिति रहेको पत्रकार सम्मेलनमा बर्माले नेपाल र अफगानिस्तानलाई विशेष प्रतिस्पर्धीका रूपमा उल्लेख गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै भारतीय कप्तान बर्माले नेपाल र अफगानिस्तानले पछिल्ला वर्षहरूमा इमर्जिङसँगै सिनियर स्तरमा समेत लोभलाग्दो प्रगति गरेको बताए।
उनले भने, “पछिल्ला केही वर्षयता नेपालले अफगानिस्तानसँगै इमर्जिङ स्तरमा मात्र होइन, सिनियर श्रेणीमा पनि निकै राम्रो प्रदर्शन गरिरहेको छ। नेपाल र अफगानिस्तानविरुद्ध खेल्नु साँच्चै नै रोमाञ्चक हुनेछ। सबै प्रतिद्वन्द्वी राम्रा छन्, तर नेपाल र अफगानिस्तानविरुद्धको खेल विशेष रूपमा रोमाञ्चक हुनेछ।”
क्याप्टेन्स डे कार्यक्रममा नेपालका कप्तान सन्दीप लामिछाने र भारत ‘ए’ का कप्तान बर्मासहित प्रतियोगितामा सहभागी सबै आठ टोलीका कप्तानहरूले ट्रफीसहित सामूहिक तस्बिर खिचाएका थिए।
नेपाल र भारत एउटै समूहमा, शुक्रबार पहिलो भिडन्त
तिलक बर्माको यो अभिव्यक्तिले नेपाल र भारत ‘ए’ बीचको आगामी खेलको रौनक थप बढाएको छ।
नोभेम्बर १९ देखि २९ सम्म ५० ओभरको एकदिवसीय ढाँचामा चल्ने यस प्रतियोगितामा नेपाल, भारत ‘ए’, साविक विजेता पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) एउटै समूहमा रहेका छन्। अर्को समूहमा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।
सन्दीप लामिछानेको कप्तानीमा कतार पुगेको नेपाली टोलीले समूह चरणको आफ्नो पहिलो खेल नै शुक्रबार दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट रंगशालामा भारत ‘ए’ विरुद्ध खेल्नेछ। त्यसपछि नेपालले नोभेम्बर २२ मा युएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ को सामना गर्ने तालिका छ।
तिलक बर्माको नेतृत्वमा रहेको भारत ‘ए’ टोलीमा सिनियर टोलीबाट खेलिसकेका अभिषेक शर्मा, रिंकु सिंह, हर्षित राणा र रजत पाटिदारका साथै युवा स्टार वैभव सूर्यवंशीजस्ता चर्चित खेलाडीहरू समावेश छन्।
दुवै समूहका शीर्ष दुई-दुई टोली नोभेम्बर २६ र २७ मा हुने सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।
मंसिर २, २०८३ बुधबार ०८:४८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।