टियुमा ट्रम्पलम्यानको जादु : एनपीएलका १० ‘ओपनि‍ङ ओभर’मै ६ विकेट चट्काए, एक महिनापछि नेपाललाई नै चुनौती!

टियुमा ट्रम्पलम्यानको जादु : एनपीएलका १० ‘ओपनि‍ङ ओभर’मै ६ विकेट चट्काए, एक महिनापछि नेपाललाई नै चुनौती!

काठमाडौं : मंगलबार साँझ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को पहिलो क्वालिफायर खेल सुरु हुनै लाग्दा दर्शकको नजर सुदूरपश्चिम रोयल्सका ओपनिङ ब्याटर जर्ज मुन्सीमाथि थियो।

प्लेअफकै लागि अघिल्लो दिन मात्र अनुबन्ध भएर पहिलोपटक सुदूरपश्चिमको जर्सीमा उत्रिएका अनुभवी स्कटिस ब्याटर मुन्सीले इनिङ्सको पहिलो बलमै लुम्बिनी लायन्सका बायाँहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानको सामना गरे। तर, क्रीजमा जम्न नपाउँदै ट्रम्पलम्यानको इन-स्विङ बलमा मुन्सी ‘गोल्डेन डक’ हुँदै क्लिन बोल्ड भए।

खेलपछि ट्रम्पलम्यानले आफ्नो रणनीतिबारे भने, “मैले पहिलो बलमै विकेट लिने लक्ष्य राखेर बलिङ गरेको थिएँ।” उनको यही ‘पहिलो बलमै आक्रमण गर्ने’ मानसिकताले लुम्बिनी लायन्सलाई लगातार दोस्रोपटक एनपीएलको फाइनलमा पुर्याउन निर्णायक आधार तयार पार्यो।

कुन-कुन सिजन खेले, कुल कति खेल भयो?
एनपीएलका तीन संस्करणमध्ये नामिबियाली अन्तर्राष्ट्रिय बलर ट्रम्पलम्यानले दोस्रो र हाल जारी तेस्रो सिजन मात्र खेलेका छन्। सन् २०२४ मा आयोजित एनपीएलको पहिलो सिजनमा भने उनी थिएनन्।

लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउने क्रममा उनले दोस्रो सिजनमा टोलीका सबै १० खेल खेले। उत्कृष्ट प्रदर्शनसँगै उनी प्रतियोगिताकै ‘प्लेयर अफ द सिरिज’ घोषित भएका थिए।

तेस्रो सिजनका लागि पनि साविक विजेता लुम्बिनी लायन्समै अनुबन्ध भएका उनले मंगलबारको क्वालिफायर-१ सम्म ६ खेल खेलेका छन्।

राष्ट्रिय टिममा रहेका कारण सिजनको पहिलो र दोस्रो खेल गुमाएका उनी तेस्रो खेलका लागि हतार-हतार काठमाडौं आइपुगेका थिए। पोखरा एभेन्जर्सविरुद्धको खेलको दिन विहान ८ बजे काठमाडौं झरेका उनले बेलुकी ८ बजे प्लेयर अफ द म्याचको उपाधि पाइसकेका थिए।

त्यसपछिका सबै पाँच लिग खेल र क्वालिफायर-१ मा टोलीका लागि उनी मुख्य खेलाडी हुन्। यसरी मंगलबारको क्वालिफायर-१ सहित ट्रम्पलम्यानले एनपीएलमा हालसम्म कुल १६ खेल खेलेका छन्।

१० इनिङ्समा पहिलो ओभर बलिङ, ६ विकेटको घातक रेकर्ड
ट्रम्पलम्यानको सबैभन्दा ठूलो विशेषता नै नयाँ बलबाट इनिङ्सको सुरुवाती ओभरमै विपक्षी टोलीलाई धरासायी बनाउनु हो। एनपीएलमा खेलेका कुल १६ इनिङ्समध्ये उनले १० इनिङ्समा इनिङ्सको पहिलो ओभर बलिङ गरेका छन् र ती १० ओपनिङ ओभरमै कुल ६ विकेट हात पारेका छन्।

दोस्रो सिजनमा उनले खेलेका १० खेलमध्ये ६ इनिङ्समा पहिलो ओभर बलिङ गरेका थिए, जसमा चार विकेट लिएको रेकर्ड छ। उक्त सिजनमा ट्रम्पलम्यानले चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो ओभर फालेका थिए।

जसमा चितवनका डेविड मलानलाई दोस्रो बलमा, क्वालिफायर-२ मा विराटनगरका मार्टिन गप्टिललाई पाँचौं बलमा, लोकेश बमलाई छैटौं बलमा अनि फाइनल खेलमा सुदूरपश्चिमका विनोद भण्डारीलाई ओभरको छैटौं बलमा आउट गरेका थिए।

जारी तेस्रो सिजनमा उनले पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो ओभर बलिङ गरेका छन्। जसमा पोखराका अर्जुन कुमाललाई दोस्रो बलमा र क्वालिफायर-१ मा सुदूरपश्चिमका जर्ज मुन्सीलाई पहिलो बलमै पेभेलियनको बाटो देखाए।

त्रिवि मैदानमा कति प्रभावकारी छन् ट्रम्पलम्यान ?
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको पिच र साँझको मौसममा ट्रम्पलम्यानको बायाँहाते ‘स्विङ’ बलिङ विपक्षी ब्याटरका लागि टाउको दुखाइ बन्ने गरेको छ।

इनिङ्सको पहिलो ओभर फालेका १० मध्ये ५ इनिङ्समा उनले विकेट दिलाएका छन् भने समग्रमा प्रति १० ओपनिङ ओभरमा ६ विकेट लिनु टी-२० क्रिकेटमा उम्दा प्रस्तुति हो।

सन् २०२५ देखि २०२६ नोभेम्बर ३ सम्मका ११ खेलको तथ्याङ्कअनुसार पावरप्लेमा २१ ओभर बलिङ गर्दा उनले मात्र ४.३३ को इकोनोमीमा १२ विकेट लिएका छन्, जुन लय क्वालिफायर-१ सम्म आइपुग्दा पनि निरन्तर देखिएको छ।

उनले पहिलो ओभरमा आउट गरेका ६ मध्ये डेविड मलान, मार्टिन गप्टिल र जर्ज मुन्सीजस्ता विश्वस्तरीय ओपनिङ ब्याटर समावेश छन्।

अझ विशेष पक्ष के छ भने, गत सिजनको क्वालिफायर-२ मा ३/९, फाइनलमा ३/३ र यस सिजनको क्वालिफायर-१ मा २/१४ को प्रदर्शनले उनी दबाबपूर्ण ‘नकआउट’ खेलमा झन् घातक बन्ने प्रमाणित गर्छ।

दायाँहाते ब्याटरका लागि आउट-स्विङ र इन-स्विङ अनि बायाँहाते ब्याटरको स्टम्प टु स्टम्प बलिङले उनलाई त्रिवि मैदानको सबैभन्दा प्रभावकारी नयाँ बलको बलर देखाउँछ।

एनपीएलमा समग्र प्रदर्शन र ब्याटिङ योगदान
अहिलेसम्म बलिङमा ट्रम्पलम्यानले १६ खेलमा कुल ५५.२ ओभर बलिङ गर्दै ३८० रन खर्चेर २५ विकेट लिएका छन्। एनपीएलमा उनको कुल बलिङ औसत १५.२०, इकोनोमी ६.८७ र स्ट्राइक रेट १३.२८ (हरेक १३.३ बलमा एक विकेट) रहेको छ।

दोस्रो सिजनमा १० खेलमा ३३.२ ओभर बलिङ गरेका उनले २ सय २४ रन दिएर ६.७२ को इकोनोमीमा १५ विकेट लिएका छन्। यस्तै तेस्रो सिजनको क्वालिफायर-१ सम्म खेलेका ६ खेलमा २२ ओभर बलिङ गर्दा १ सय ५६ रन खर्चिएर १० विकेट लिए। जसमा उनको इकोनोमी ७.०९ छ।

बलिङमात्र होइन, तल्लो क्रममा उनले ब्याटिङबाट पनि लुम्बिनीलाई पटक-पटक जिताएका छन्। दोस्रो सिजनमा कर्णालीविरुद्ध १४ बलमा अविजित २९ रन र एलिमिनेटरमा विजयी चौका हिर्काएका उनले टिमलाई विजयी गराएका छन्।

यस्तै तेस्रो सिजनमा जनकपुरविरुद्ध ८ बलमा १५ रन र लिगको अन्तिम खेलमा विराटनगरविरुद्ध अन्तिम ओभरमा विजयी छक्का प्रहार गर्दै लुम्बिनीलाई शीर्ष स्थानमा पुर्याएका थिए।

एक महिनापछि यही मैदानमा नेपालविरुद्ध उत्रनेछन् ट्रम्पलम्यान
एनपीएलमा लुम्बिनी लायन्सका लागि ‘म्याच विनर’ बनिरहेका ट्रम्पलम्यान ठीक एक महिनापछि भने नेपाली क्रिकेट समर्थकका लागि ‘चिन्ताको विषय’ बनेर यही त्रिवि मैदानमा उत्रनेछन्।

नेपालको आयोजनामा आगामी डिसेम्बर ४ देखि २१ सम्म कीर्तिपुर र मूलपानी मैदानमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ २०२६ आयोजना हुँदैछ।

सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न शीर्ष चारमा पर्नैपर्ने यो आठ राष्ट्र सम्मिलित प्रतियोगिताअन्तर्गत पुस ३ गते त्रिवि क्रिकेट मैदानमै नेपालले नामिबियाको सामना गर्दैछ।

यसअघि पनि त्रिवि मैदानमा नेपालविरुद्ध टी-२० आईमा एकै खेलमा ४ विकेट (४/२९) तथा एकदिवसीयमा दुई खेलमा ३-३ गरी कुल ६ विकेट लिइसकेका ट्रम्पलम्यानलाई कीर्तिपुरको पिच र कन्डिसनबारे गहिरो अनुभव छ।

यद्यपि, रोहित पौडेल, आसिफ शेख र सन्दीप जोराजस्ता नेपाली ब्याटरहरूले एनपीएलमा ट्रम्पलम्यानसँगै ड्रेसिङ रुम र अभ्यास सत्र सेयर गरिरहेकाले पुस ३ गतेको निर्णायक भिडन्तमा उनको ‘पहिलो ओभरको स्विङ’ कसरी निस्तेज पार्ने भन्ने रणनीति बनाउन नेपाललाई मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ।

मंसिर २, २०८३ बुधबार ११:४३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।