तीन लाख ४५ हजार घुस लिएको अभियोगमा वीरगञ्जका दुई प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
योजनाको भुक्तानी तथा धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार उक्त कार्यालयका अधिकृत छैटौँ प्राविधिकद्वय गजेन्द्रप्रसाद जयसवाल र विकी यादवले पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोतको पुनर्भरण तथा भण्डारणसम्बन्धी योजनाको भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख ४५ हजार घुस मागेको भन्दै आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानलेले आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारसम्बन्धी उक्त योजना सम्पन्न भएपछि भुक्तानी तथा धरौटी रकम फिर्ता दिने क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा घुस रकम लिएको भन्दै आरोपपत्र दायर गरेको बताए।
आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन लाख ४५ हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको छ।
मंसिर २, २०८३ बुधबार १८:०२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।