सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा
काठमाडौं : चितवन राइनोजमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार राति सम्पन्न दोस्रो क्वालिफायरमा चितवनले दिएको १ सय ३४ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी छँदै १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
यो जितसँगै सुदूरपश्चिमले एनपीएलका तीनवटै संस्करणको फाइनल खेल्ने कीर्तिमान बनाएको छ। अब शनिबार साँझ ५ बजे हुने फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ।
यसअघि पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भई दुई पटक उपविजेतामा सीमित बनेको सुदूरपश्चिमलाई यसपटक पहिलो उपाधि जित्ने तथा लुम्बिनीसँग पहिलो क्वालिफायर र अघिल्लो फाइनलको हारको बदला लिने अवसर प्राप्त भएको छ।
रत्नायकेको अलराउन्ड प्रदर्शनले पल्टायो खेल
मध्यम लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पनि सुरुवातमा लगातार विकेट गुमाएको थियो।
७.२ ओभरमा ४५ रन बनाउँदा शीर्ष ४ ब्याटर आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो। तर, बलिङमा २ विकेट लिएका थारिन्दु रत्नायकेले सङ्कटको समयमा धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई फाइनलमा पुर्याए।
अविजित रहेका रत्नायकेले ४२ बलमा ७ चौका प्रहार गर्दै ५३ रनको म्याच-विनिङ अर्धशतकीय इनिङ्स खेले।
उनले कप्तान दीपेन्द्रसिंह ऐरीसँग ३१ रन, आरिफ शेखसँग २६ रन र सातौं विकेटका लागि फाबियन एलेनसँग ३० रनको महत्त्वपूर्ण साझेदारी गरे। अन्तिम ओभरमा जितका लागि थोरै रन आवश्यक रहँदा १९.४ ओभरमा एलेन रनआउट भए पनि रत्नायकेले १९.५ ओभरमा लक्ष्य पूरा गराए।
चितवनका बलरहरूले कडा टक्कर दिए पनि लक्ष्य जोगाउन पर्याप्त भएन। चितवनका रन्जित कुमारले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। उसामा मिरले ४ ओभरमा मात्र १४ रन खर्चेर १ विकेट लिँदै निकै किफायती बलिङ गरे भने कमलसिंह ऐरी, रिजन ढकाल र सलाहुद्दिन खानले १-१ विकेट हात पारे।
अन्तिम ओभरमा नियमित विकेटकिपर कमिल मिशाराले ग्लोभ्स विवेक यादवलाई दिएर आफैँ बलिङमा आए पनि ५ बलमै सुदूरपश्चिमले खेल आफ्नो पक्षमा पार्यो।
चितवनको इनिङ्समा मलानको ७१ रन खेर गयो
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।
चितवनका लागि डेभिड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रनको सङ्घर्षपूर्ण इनिङ्स खेलेका थिए। तल्लो क्रममा सलाहुद्दिन खानले १८ र कमलसिंह ऐरीले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क छुन सकेनन्।
सुदूरपश्चिमको कसिलो बलिङमा स्कट कुग्लेइनले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। रत्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे भने कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हेमन्त धामीले १-१ विकेट लिए।
बुधबार इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको चितवनको यात्रा भने यहीँ समाप्त भएको छ।
मंसिर ३, २०८३ बिहीबार २१:०६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।