चीनसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव, एक-चीन नीतिमा प्रतिबद्धता

चीनसँग पाँच क्षेत्रमा सहकार्य गर्न रास्वपाको प्रस्ताव, एक-चीन नीतिमा प्रतिबद्धता

काठमाडौं : चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग बाह्रै महिना चल्ने सडक, सुक्खा बन्दरगाह विस्तार, प्रत्यक्ष हवाई उडानसहित सहकार्यका प्राथमिकताका पाँच क्षेत्र प्रस्ताव गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव वाङ स्याओहुईसँग चेङ्दुमा भएको भेटवार्तामा प्रतिनिधिमण्डलले राजनीतिले विकास तथा साझा समुन्नतिको लक्ष्य प्राप्तिमा सहजीकरण गर्नेमा जोड दिँदै उक्त प्रस्ताव अगाडि सारेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए। 

उनका अनुसार रास्वपाले भरपर्दो तथा दिगो सीमापार यातायात पूर्वाधार निर्माण, पर्वतीय अध्ययन र विपद् उत्थानशीलता, स्वच्छ ऊर्जा र हरित उद्योग प्रवर्द्धन, हवाई सम्पर्क तथा व्यापार र डिजिटल नवप्रवर्तनलाई सहकार्यका साझा प्राथमिकताका रूपमा अगाडि सारेको थियो।

प्रतिनिधिमण्डलले पछिल्ला विपद्ले बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणालीको आवश्यकता देखाएको थियो। प्रतिनिधिमण्डलले हिमालपारिको व्यापार र आवागमन सुरक्षित तथा भरपर्दो बनाउन सहकार्यको प्रस्ताव गरेको उल्लेख गरिएको छ।

त्यस्तै पर्वतीय विज्ञान, सूचना आदानप्रदान र विपद् उत्थानशीलतालाई दोस्रो क्षेत्रको रूपमा प्रस्ताव गरेको छ। मौसम पूर्वानुमान, बाढीको पूर्व सूचना, सुरक्षित सडक र विपद् पूर्व तयारीमा ज्ञान तथा सूचना आदानप्रदानले जनधनको क्षति घटाउन सक्ने प्रतिनिधिमण्डलले उल्लेख गरेको छ।

यस्तै भरपर्दो हवाई सम्पर्क, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड दिँदै प्रतिनिधिमण्डलले चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवातर्फ थप प्रत्यक्ष उडानको सम्भावना खोज्न आग्रह गरेको छ। खरेलका अनुसार भेटवार्ताको क्रममा उनीहरुबीच नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई विकास र साझा समृद्धिमा केन्द्रित गर्दै व्यवहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको थियो। 

भेटवार्तामा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार, स्वच्छ ऊर्जा, आधुनिक कृषि, संस्कृति र पर्यटनका विषय छलफल भएको थियो। त्यस अवसरमा नेपाली प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र एकअर्काको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताप्रतिको सम्मानमा आधारित रही आएकाले यी मान्यता तथा सिद्धान्तलाई सदैव उच्च सम्मान गर्ने जानकारी गराएको थियो।

छलफलमा नेपाली टोलीले रास्वपा र सरकारको नेतृत्व चीनसँगको मैत्रीपूर्ण सम्बन्धप्रति प्रतिबद्ध रहेको जानकारी गराएको थियो। प्रतिनिधिमण्डलले एक-चीन सिद्धान्त नेपालको दशकौंदेखिको महत्त्वपूर्ण र स्थिर अडान भएको पुनः स्पष्ट पार्दै रास्वपा र सरकारले त्यस अडानलाई निरन्तरता दिने तथा चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विषय स्पष्ट पारेको थियो।

बलियो राजनीतिक विश्वासले मित्रतालाई दिगो बनाउने उल्लेख गर्दै प्रतिनिधिमण्डलले चीनले रास्वपालाई पारदर्शी, विश्वासिलो र सिद्धान्तनिष्ठ साझेदारका रूपमा रहेको जानकारी गराएको थियो। महामन्त्री आचार्यले भोटेकोशी विपद् ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै विपद्पश्चात् चीनले आफ्नै भूमिमा उद्धार र राहतको काम गरिरहँदा नेपालका प्रभावित क्षेत्रमा पनि तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गरेका थिए। 

त्यहाँको प्रान्तीय जनकांग्रेसका स्थायी समिति अध्यक्ष रहेका वाङ्ले प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराए। गत भदौमा रसुवाको सीमावर्ती क्षेत्रको बाढीले दुवै देशमा जनधनको क्षति गरेको स्मरण गर्दै राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले समवेदना सन्देश पठाएको स्मरण समेत गराएका थिए। उनले दुवै देशले मिलेर कठिनाइको सामना गरेको घटनालाई परम्परागत मित्रताको उत्कृष्ट उदाहरणको संज्ञा दिएको विज्ञप्तिमा उल्लेख छ। 

मंसिर २, २०८३ बुधबार १८:३९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।