फाइनल पुग्न सुदूरलाई १३४ रनको लक्ष्य, मलान एक्लैको ७१ रन
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन बनाएपछि सुदूरपश्चिमले १ सय ३४ रनको लक्ष्य पाएको हो।
चितवनको इनिङ्स उकास्न अनुभवी ब्याटर डेभिड मलानले एक्लै सङ्घर्षपूर्ण अर्धशतक प्रहार गरे।
३८ बलमा अर्धशतक पूरा गरेका मलानले ५१ बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रनको योगदान दिए। चितवनको कुल योगफलको आधाभन्दा बढी रन उनकै ब्याटबाट निस्कियो।
मलानबाहेक तल्लो क्रममा सलाहुद्दिन खानले १६ बलमा १ छक्कासहित १८ र कमलसिंह ऐरीले ८ बलमा १ छक्कासहित १० रन बनाए। चितवनका अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
अघिल्लो खेलका शतकधारी कमिल मिशारा ४ रनमै आउट हुँदा देव खनाल (६), कप्तान रवि बोपारा (१), विवेक यादव (३), कुशल मल्ल (१), उसामा मिर (२) र रिजन ढकाल (३) सस्तैमा समेटिए। चितवनले अतिरिक्त १४ रन पाएको थियो।
खराब सुरुवातपछि तल्लो क्रमको साथ
पावरप्लेमा ३२ रन जोड्दा ३ विकेट गुमाएको चितवन एक समय १२औं ओभरमा ६२-६ को अवस्थामा पुगेको थियो।
तर, मलानले सातौं विकेटका लागि सलाहुद्दिन खानसँग ४० रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०० रन पार गराए। अन्तिम ५ ओभरमा चितवनले ३ विकेट गुमाएर ४४ रन जोड्दै सम्मानजनक योगफल खडा गर्यो।
सुदूरपश्चिमका बलरहरूसामु चितवनको ब्याटिङ लाइनअप सुरुवातदेखि नै दबाबमा रह्यो। सुदूरपश्चिमका लागि स्कट कुग्लेइनले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा मात्र २७ रन खर्चिए। यस्तै, थारिन्दु रत्नायकेले ४ ओभरमा २३ रन दिएर २ विकेट हात पारे।
कप्तान दीपेन्द्रसिंह ऐरीले १ मेडनसहित ४ ओभरमा २० रन खर्चेर १ विकेट लिँदा इशान पाण्डेले ३ ओभरमा १७ रन तथा हेमन्त धामीले ४ ओभरमा ३२ रन दिएर समान १-१ विकेट लिए। अनिल खरेलले १ ओभरमा ११ रन खर्चिँदा विकेटविहीन रहे। इनिङ्सको अन्तिम बलमा रिजन ढकाल रनआउट भएका थिए।
सुदूरपश्चिमले अब शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँगको उपाधि भिडन्त पक्का गर्न १३४ रनको लक्ष्य पछ्याउनेछ।
मंसिर ३, २०८३ बिहीबार १८:५३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।