तीन चोटि हार्‍यौं भन्दैमा फेरि हार्छौं भन्ने छैन, इतिहास बदलिन सक्छ : अनिल खरेल

तीन चोटि हार्‍यौं भन्दैमा फेरि हार्छौं भन्ने छैन, इतिहास बदलिन सक्छ : अनिल खरेल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो पटक फाइनल यात्रा तय गरेपछि सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले अब साविक विजेता लुम्बिनी लायन्सविरुद्धको उपाधि भिडन्तमा इतिहास बदलिन सक्ने विश्वास व्यक्त गरेका छन्।

बिहीबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गरेपछि आयोजित पोस्ट-म्याच पत्रकार सम्मेलनमा बोल्दै खरेलले टोली उपाधि जित्न पूर्ण रूपमा केन्द्रित रहेको बताएका हुन्।

शनिबार हुने फाइनलमा सुदूरपश्चिमको भेट फेरि लुम्बिनी लायन्ससँग हुँदैछ। लुम्बिनीसँग लगातार तीन खेल हारेको रेकर्डबारे पत्रकारले राखेको जिज्ञासामा खरेलले मुस्कुराउँदै आत्मविश्वासका साथ भने, “अहिले त फाइनल जित्ने नै प्रयास हो। तीन चोटि हार्यौं भन्दैमा फेरि हार्छौं भन्ने छैन, सायद इतिहास बदलिन सक्छ।”

लुम्बिनीको बलिङ पक्ष बलियो रहेको स्वीकार गर्दै उनले फाइनलमा सुदूरपश्चिमले राम्रो ब्याटिङ गर्न सके आफूहरूसँग पनि उत्कृष्ट बलिङ रहेकाले लक्ष्य जोगाउन वा पछ्याउन सहज हुने बताए।

टिमको ब्याटिङ प्रदर्शन अपेक्षाअनुसार नभएकोबारे सोधिएको प्रश्नमा उनले थोरै चिन्ता स्वाभाविक भए पनि चितवनविरुद्धको रोमाञ्चक जितले टोलीलाई ठुलो आत्मविश्वास दिएको उल्लेख गरे।

अघिल्ला सिजनभन्दा यस पटक सुदूरपश्चिमको ड्रेसिङ रुमको माहोल निकै सकारात्मक रहेको खरेलले अनुभव सुनाए। प्रतियोगिताको सुरुवाती तीनमध्ये दुई खेल गुमाउँदा पनि टोली नआत्तिएको उनको भनाइ थियो।

“मैले पहिला खेलेको टिमभन्दा यहाँ समग्र माहोल एकदमै राम्रो छ,” उनले भने, “सुरुवाती खेलहरू हार्दा पनि होटेलमा होस् वा अभ्यासका क्रममा, हाम्रो एउटै योजना थियो-फाइनल पुग्ने र फाइनल जित्ने। त्यति धेरै शङ्का कसैमा पनि थिएन।”

चितवनविरुद्धको खेलमा सुरुमै विकेट लिए पनि बिचमा केही मिसफिल्ड हुन पुगेको, तर आफ्नो बलिङमा टोली विश्वस्त रहेको खरेलले बताए। प्रतियोगिताभर आफ्नो प्रदर्शनबारे बोल्दै उनले कप्तानले दिएको भूमिकाअनुसार विकेट लिएर वा रन रोकेर टोलीलाई योगदान दिइरहेको प्रतिक्रिया दिए।

सुदूरपश्चिम र लुम्बिनीबीचको उपाधि भिडन्त शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

मंसिर ३, २०८३ बिहीबार २२:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।