एनपिएलको फाइनल पुग्ने खेलमा सुदूरपश्चिमले टस हार्‍यो, चितवन पहिले ब्याटिङमा

एनपिएलको फाइनल पुग्ने खेलमा सुदूरपश्चिमले टस हार्‍यो, चितवन पहिले ब्याटिङमा

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्। आजको खेलमा विजयी हुने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ विकेटले पराजित भएपछि लिग चरणको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो अवसर पाएको हो।

यता, बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। अघिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका कमिल मिशारा, कप्तान बोपारा, डेभिड मलान र उसामा मिरसहितको बलियो टोलीलाई चितवनले निरन्तरता दिएको छ।

दुवै टोलीको प्लेइङ-११
चितवन राइनोज : रवि बोपारा (कप्तान), कमिल मिशारा (विकेटकिपर), डेभिड मलान, देव खनाल, कुशल मल्ल, विवेककुमार यादव, कमलसिंह ऐरी, रिजन ढकाल, रन्जित कुमार, सलाहुद्दिन खान र उसामा मिर।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, हिक्मत महरा, हेमन्त धामी, अनिल खरेल, सैफ जैब, स्कट कुग्लेइन, थारिन्दु रत्नायके र फाबियन एलेन।

मंसिर ३, २०८३ बिहीबार १६:५०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।