अष्ट्रेलिया पुगेर गायक अनिल सिंहले खुलाए स्वास्थ्य समस्या, भने- ‘खुट्टा काट्नुपर्छ भनेपछि नेपाल छाडेँ’
काठमाडौं : पप गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको र चिकित्सकले खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्ने भनेपछि आफू नेपाल छाडेर अष्ट्रेलिया पुगेको बताएका छन्।
अष्ट्रेलियाबाट फेसबुक लाइभमार्फत उनले चिकित्सकको सुझावअनुसार नेपालमा बसेर चुरोट छाड्न सम्भव नदेखिएपछि अष्ट्रेलिया टुरमा आएको बताएका हुन्।
अष्ट्रेलिया आउनुअघि खुट्टामा समस्या देखिएपछि फुलबडी चेकअप गराउँदा आफू ‘चेन स्मोकर’ भएकै कारण यस्तो समस्या निम्तिएको थाहा पाएको उनले सुनाए। “डाक्टरले तपाईंको खुट्टा काट्नुपर्छ होला भन्नुभयो, त्यसपछि नेपाल छाडेर अष्ट्रेलिया टुरमा आएँ,” उनले भने, “बुधबार बायोमेट्रिक दिएको थिएँ, बिहीबार भिसा लाग्यो र बिहीबार नै भागेर अष्ट्रेलिया आइपुगेँ।”
उनले आफूलाई अष्ट्रेलिया लैजाने काम गायक प्रकाश सपूतले मिलाएको जानकारी दिए। अहिले चिकित्सकको सल्लाहमा औषधि लिइरहेको बताउँदै सिंहले आफू चुरोटको लत त्याग्ने प्रयासमा रहेको सुनाए। “हिजो म दिनको दुई-तीन बट्टा चुरोट खान्थेँ, अहिले एक-दुई वटामा सीमित भएको छु,” उनले भने, “तर त्यो पनि स्वास्थ्यका लागि राम्रो छैन। एडिलेड पुगेपछि पूर्ण रूपमा चुरोट छाड्ने प्रयासमा छु।”
उनले सिड्नी र तास्मानियामा आयोजित नेपाल फेस्टिभलको कार्यक्रम सकिसकेको जानकारीसमेत दिए। फेसबुक लाइभमा भावुक बनेका सिंहले जिन्दगीका केही गल्तीका लागि माफी र अझ धेरै साथको अपेक्षा राखेको बताए।
‘लाइफ इज अनसर्टेन एन्ड अनप्रेडिक्टेबल’ भन्दै उनले कुनै पनि बेला जे पनि हुन सक्ने भएकाले कसैलाई पनि धूम्रपान नगर्न सुझाव दिए। गायक सिंहका ‘इन्जिन गाडीमा हो इन्जिन गाडीमा’, ‘आइ लभ यु’, ‘सक्छौ भने बिदा देउ’ लगायत दर्जनौं पप गीत चर्चामा छन्।
मंसिर १, २०८३ मंगलबार २३:००:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।