हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष राय पक्राउ
काठमाडौं : सरकारी कागज किर्ते गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्। ५५ वर्षीय रायलाई मङ्गलबार अपराह्न बसबरिया गाउँपालिका- १ स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।
२०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भनेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो। उक्त मुद्दामा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि अध्यक्ष रायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मंसिर १, २०८३ मंगलबार २३:१६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।