राखेपद्वारा एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
राखेपको कार्यकारी समितिले बिहीबार एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो। परिषद्ले निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोकावट पनि हटेको जनाएको छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई सम्बोधन गरी पठाएको पत्रमार्फत प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी दिए।
पत्रमा एन्फाले गत अप्रिल ५ मा पठाएको पत्रमार्फत गरेको अनुरोध तथा परिषद्बाट यसअघि विभिन्न समयमा जारी गरिएका पत्राचारलाई आधार बनाएर निलम्बन र प्रतिबन्ध हटाइएको उल्लेख छ।
पत्रमा भनिएको छ, “राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार एन्फामाथि लगाइएका निलम्बन तथा प्रतिबन्धहरू फुकुवा गरिएको जानकारी गराइन्छ। यससँगै एन्फामाथि लगाइएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध पनि हटाइएको छ।”
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) लाई आधार बनाएर प्रतिबन्ध फुकुवाको निर्णय गरेको पत्रमा उल्लेखक छ।
मंसिर ३, २०८३ बिहीबार १६:०५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।