नेपाली क्रिकेट टोली लर्ड्समा बङ्गलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग छ खेल खेल्ने
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी वर्षको जुन महिनामा ऐतिहासिक इंग्ल्यान्ड भ्रमण गर्ने भएको छ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को आतिथ्यमा हुने ‘नेपाल टुर अफ इंग्ल्यान्ड’ अन्तर्गत नेपालले लर्ड्स मैदानमा टेस्ट राष्ट्र बङ्गलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) र एमसीसीद्वारा बिहीबार संयुक्त रूपमा सार्वजनिक गरिएको तालिकाअनुसार नेपाल र बङ्गलादेशबिचको ऐतिहासिक खेल सन् २०२७ जुन ३ मा लर्ड्समा हुनेछ।
लर्ड्समा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पूर्ण सदस्य राष्ट्रसँग खेल्न लागेको यो नै पहिलो खेल हुनेछ। समग्रमा भने लर्ड्समा नेपालको यो दोस्रो पुरुष टी-२० अन्तर्राष्ट्रिय खेल हो।
यसअघि नेपालले सन् २०१८ मा एमसीसी र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक शृङ्खलामा नेदरल्यान्ड्सविरुद्ध लर्ड्समा टी-२०आई खेलेको थियो।
लर्ड्समा पहिलो ‘डबल-हेडर’ र प्रत्यक्ष प्रसारणको सहज समय
नेपाल र बङ्गलादेशबीचको खेल हुने दिनमै सोही मैदानमा मिडलसेक्सको ‘टी-२० ब्लास्ट’ अन्तर्गतको खेल पनि आयोजना गरिनेछ।
लर्ड्सको इतिहासमा पुरुषतर्फ अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको ‘डबल-हेडर’ हुन लागेको यो नै पहिलो पटक हो। घरेलु टी-२० ब्लास्टको खेल तालिका सार्वजनिक भएपछि जुन ३ को दोस्रो खेलको औपचारिक टुङ्गो लाग्नेछ।
नेपाल र बङ्गलादेशका क्रिकेटप्रेमी दर्शकले टेलिभिजनमार्फत प्रत्यक्ष खेल हेर्न सकून् भन्ने उद्देश्यले खेलको समय अनुकूल बनाइने एमसीसीले जनाएको छ।
बङ्गलादेशको पुरुष टोलीका लागि पनि लर्ड्समा यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ। यसअघि मे महिनाको अन्त्यतिर बङ्गलादेशले १७ वर्षपछि लर्ड्समा इंग्ल्यान्डविरुद्ध टेस्ट म्याच खेल्ने तय छ।
नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्ने
१ देखि १२ जुन २०२७ सम्म चल्ने भ्रमणका क्रममा नेपालले बङ्गलादेशका साथै टेस्ट राष्ट्र आयरल्यान्ड र स्कटल्यान्ड विरुद्ध पनि विभिन्न आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
भ्रमणका सबै खेलहरू आईसीसीबाट मान्यता प्राप्त र इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) बाट स्वीकृत आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछन्। जसअनुसार वर्म्स्लीमा तीन र बेकेनहमस्थित द काउन्टी ग्राउन्डमा दुई खेल हुनेछन्।
भ्रमणको पूर्ण खेल तालिका (जुन २०२७) :
१ जुन (मङ्गलबार) : नेपाल विरुद्ध स्कटल्यान्ड (५० ओभरको खेल) - वर्म्स्ली
३ जुन (बिहीबार) : बङ्गलादेश विरुद्ध नेपाल (टी-२०आई) - लर्ड्स (टी-२० ब्लास्टसँग डबल-हेडर)
६ जुन (आइतबार) : आयरल्यान्ड विरुद्ध नेपाल (५० ओभरको खेल) - वर्म्स्ली
९ जुन (बुधबार) : आयरल्यान्ड विरुद्ध नेपाल (टी-२०आई) - वर्म्स्ली
११ जुन (शुक्रबार) : आयरल्यान्ड विरुद्ध नेपाल (टी-२०आई) - बेकेनहम
१२ जुन (शनिबार) : आयरल्यान्ड विरुद्ध नेपाल (टी-२०आई) - बेकेनहम
पदाधिकारीहरूको प्रतिक्रिया
भ्रमण घोषणाबारे क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध लर्ड्समा नेपालको पहिलो ऐतिहासिक खेल खेल्न उत्साहित रहेको बताए।
उनले सहकार्य र सहयोगका लागि एमसीसी, ईसीबी, बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी), क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गरे।
क्यानका सचिव पारस खड्काले लर्ड्समा फर्किनु सदैव गौरव र सम्मानको विषय हुने बताउँदै यस्ता पहलले नेपाली क्रिकेटलाई अमूल्य अन्तर्राष्ट्रिय एक्सपोजर र विश्वव्यापी साझेदारी बलियो बनाउन मद्दत पुग्ने उल्लेख गरे।
उनले नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गरेकोमा एमसीसीलाई विशेष धन्यवाद पनि दिए।
एमसीसीका प्रमुख कार्यकारी एवं सचिव रोबर्ट लसनले पछिल्ला वर्षहरूमा एमसीसी र क्यानबिचको सम्बन्ध निकै प्रगाढ बनेको बताउँदै नेपालमा क्रिकेटप्रतिको अद्भुत लगाव आफूहरूले प्रत्यक्ष देखेको उल्लेख गरे।
त्यस्तै, बीसीबीका अध्यक्ष तमिम इकबालले लर्ड्समा बङ्गलादेशको यो पहिलो पुरुष टी-२०आई ऐतिहासिक हुने र यसले क्रिकेटप्रेमी दुई राष्ट्र नेपाल र बङ्गलादेशका समर्थकलाई एउटै उत्साहमा जोड्ने बताए।
मंसिर ३, २०८३ बिहीबार १५:५२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।