स्कुलबसका चालक नै लागु औषध कारोबारी, उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
काठमाडौं : उपत्यकालाई केन्द्रबिन्दु बनाई लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ८८ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले गत कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध गाउँपालिका–११ का २७ वर्षीय समिर तामाङ, दोलखा शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाईबा, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहार, भारचको मधुबनीका २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।
ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेकामध्ये राज रसाइली ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बस चालक रहेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, नगद २ लाख ८० हजार रुपैयाँ, २ थान डिजिटल तराजु र ४ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
मंसिर ३, २०८३ बिहीबार १७:२७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।